सरकार गठन र पार्टी एकताको प्रक्रिया सँगसँगै गर्ने निर्णयमा माअोवादी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकार गठन र पार्टी एकताको प्रक्रिया सँगसँगै गर्ने निर्णयमा माअोवादी



काठमाडाै । नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकताको प्रक्रिया सँगसँगै अगाडि बढाउनुपर्ने बताएको छ। सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले दुईमध्ये एक प्रक्रियालाई रोक्न नहुने निष्कर्ष निकालेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता राष्ट्रिय आवश्यकता भएको धारणा राखेका थिए। बैठकको सुरु र अन्तिममा आफ्नो धारणा राखेका प्रचण्डले दुई वामपन्थी पार्टी एकता गरेर अघि बढ्ने गठबन्धनको मार्गचित्रलाई जनमतले अनुमोदन गरिसकेको बताएका थिए।

‘पार्टी एकताको आधार तयार गरेर सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता पम्फा भुषालले भनिन्, ‘यीमध्ये एउटालाई रोकेर अगाडि बढ्नु हुँदैन किनभने यो मार्गलाई जनताले अनुमोदन गरिसके।’

बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा गरिएको थियो। चुनावमा ‘प्रत्यक्षतर्फ राम्रै नतिजा आएको तर समानुपातिकमा अपेक्षाअनुरुप मत नआएको’ समीक्षा बैठकमा गरिएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए। समानुपातिकमा पार्टीको मत कम आउनुमा ६० प्रतिशत क्षेत्रमा माओवादीका उमेदवार नै नहुनु भएको निष्कर्ष पनि बैठकमा निकालिएको छ।

त्यसैगरी माओवादी बैठकमा राष्ट्रिय सभा गठनको विषयलाई लिएर दलहरुबीच देखिएको किचलोबारे पनि छलफल भएको थियो। सो विवादको समाधान सहमतिमै खोज्नुपर्ने माओवादी केन्द्रले बताएको छ।

प्रकाशित : ३ पुष २०७४, सोमबार १७:२५