मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्ज जाने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्ज जाने बाटो खुल्यो



काठमाडाै । लामो रस्साकस्सीपछि अन्तंत: मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । मेगा बैंकको आज बसेको बिशेष साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।

सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ । जस अनुसार टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन्।

मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए। चालु आर्थिक बर्ष २०७२÷७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँया रहेको छ। यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए।

टुरिजम बैंकको बिशेष साधारण सभाले यस अघि नै मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

तर मेगामा भने विवादका यस अघि डाकिएको बिशेष साधारणसभाले उक्त प्रस्ताव पारित गर्न सकेको थिएन । त्यस समय बैंकका शेयरधनी र संचालकबीच मुख्यत स्वाप रेसियोमा कुरा नमिलेको पाइएको थियो। टुरिजमलाई ९५ प्रतिशतको स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता भएपनि दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) बाट स्वाप रेशियो ९१.९७ प्रतिशत कायम भएपछि बिबाद बढेको थियो ।

अब भने दुवै बैंकको बिशेष साधारणसभाले प्रस्ताव पारित गरेपछि मर्जर प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार १८:१८