देउवाका मन्त्रीहरुले सरकार छाड्ने बेलामा तिघ्रा ठटाउन थालेः अोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देउवाका मन्त्रीहरुले सरकार छाड्ने बेलामा तिघ्रा ठटाउन थालेः अोली



काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुले सरकार छाड्ने बेलामा तिघ्रा ठटाउन थालेको संज्ञा दिएका छन् ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ जिल्लाका वाम गठबन्धनबाट निर्वाचित उम्मेदवारहरुलाई बधाई दिन आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका प्रवक्ता समेत रहेका मोहन बहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर वाम गठबन्धनप्रति लगाएको आरोपलाई तिघ्रा ठटाएजस्तै गरेको संज्ञा दिएका हुन् ।

उनले सरकार र मन्त्रीहरुलाई आफ्नो हैसियत र मर्यादा बुझ्न चेतावनी समेत दिए । ‘मन्त्रीहरुले हैसियत बुझ्न जरुरी छ । राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएर विवादमा नतान्नुस्, यसले तपाईंहरुलाई पनि राम्रो गर्दैन,’ ओलीको भनाइ छ ।

सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै ओलीले उक्त अध्यादेश प्रमाणिकरण गर्नै नमिल्ने बताए । ‘संसद विघटन भएपछि ल्याएको अध्यादेश हो त्यो, एउटा पार्टीका लागि मात्रै ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गर्ने कुरै हुँदैन ।’

अध्यक्ष ओलीले जनमतको कदर गर्न सरकारलाई पुनः स्मरण गराए । ‘हामीलाई सरकार बनाउन समस्या छैन, आयोगका कुनै एक आयुक्तले विवाद निम्त्याउन चाहेका छन् ट्वीट गरेका छन् त्यसतर्फ लाग्न जरुरी छैन ।’

उनले तेस्रो पार्टी भएर आफै सरकार चलाउँछु भन्नुले काङ्ग्रेसको लोकतन्त्र कस्तो हो भन्ने प्रष्ट भएको बताए ।

फरक प्रसङ्गमा एमाले र माओवादी पार्टी एकीकरणपछि पनि जवजको विचारकै आधारमा अघि बढ्ने ओलीले भनाई राखे ।

कार्यक्रममा एमालेका अर्का नेता माधव नेपालले पूरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत दिइएको बताए । उनले नेपालमा अधिनायकवाद नआउने भन्दै काङ्ग्रेसलाई प्रतिपक्षमा बस्नुपर्ने भएपछि अधिनायकवादको भ्रम छरेको बताए ।

माओवादीका नेता नारायणकाजी श्रेष्ठले काङ्ग्रेसले जनमत गुमाएकाले अब पनि सरकारमा बसिरहनु उपयुक्त नहुने धारणा राखे ।

प्रकाशित : ५ पुष २०७४, बुधबार २२:१९