समानुपातिकतर्फको सिट संख्या प्रमाणिकरणका लागि दश दिनभित्र राष्ट्रपति कार्यालयमा बुझाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समानुपातिकतर्फको सिट संख्या प्रमाणिकरणका लागि दश दिनभित्र राष्ट्रपति कार्यालयमा बुझाउने तयारी



काठमाडौं । समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिटसंख्या शुक्रबार सार्वजनिक हुँदै छ । आयोगले प्राप्त हुने सिट संख्या प्रमाणिकरणका लागि दश दिनभित्र राष्ट्रपति कार्यालयमा बुझाउने बताएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले शुक्रबार नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

प्रदेश नम्बर १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम रातभरमा पूरा गरी शुक्रबार दिउँसो बस्ने आयोगको बैठकपछि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

राजनीतिक दललाई पठाउने पत्र र आयोगको बैठकमा पेश गर्ने प्रस्ताव तयारीमा जुटिरहेको आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकोमा प्रत्यक्षतर्फको निर्वाचनको नतिजा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लगभग एक करोड पाँच लाखले मतदान गरेका थिए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १ दशमलव ५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको संसद्मा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था रहेको छ ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १५:०४