अब मोबाइल एपले यसरी खोज्नेछ हराएका चेलीबेटी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब मोबाइल एपले यसरी खोज्नेछ हराएका चेलीबेटी



काठमाडौं । अब हराएको चेली मोबाइल एपको सहयोगमा खोजिने भएको छ । माइती नेपालका भोलन्टियरहरुले मोबाइल एपबाट हराएको चेली खोेज्ने भएका हुन् । उनीहरु स्मार्टफोन बोकेर हिँड्नेछन् । सीमामा शंकास्पद ब्यक्तिलाई भेटे मोबाइलमा फोटो खिच्ने छन् । त्यसरी खिचिएको फोटो माइती नेपालको केन्द्रीय सर्भरमा रहेका हजारौंको संख्यामा रेकर्ड गरिएका चेलिबेटी बेचविखनमा संलग्न अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको फोटोसँग मोवाइल एपले आफैं दाँज्ने छ । यसरी कुनै दलाल वा हराएका चेलिबेटीसँग फोटोसँग भेटिएको ब्यक्तिको फोटो मिले एपले केही सकेन्डभित्रै जानकारी दिने बताएको छ । त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउन एपले प्रहरीमा जानकारी दिने छ । नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिदै आएका छन् ।

 

 

हाल माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा नाकामा दलाल र हराएका चेलिबेटीको फोटो बोकेर आवतजावत गर्नेको अनुहार हेर्दै हिँडिरहेका हुन्छन् । २२ बर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समिर पन्थीले माइती नेपाललाई प्रविधिमा केही योगदान गर्न सकिन्छ कि भनेर सोचिरहेका थिए ।

 

अमेरिकामा बसेर अध्ययन गरिरहेका उनका दुई जना भारतीय साथीहरु स्वदेश फर्केर प्रविधिको विकासमा खटिइरहेका थिए । उनीहरुले अनहार चिन्ने प्रविधि विकास गरेको पन्थीले थाहा पाए । त्यसपछि पन्थी ती साथीहरुलाई भेट्न भारत आए । उनीहरुले विकास गरेको प्रविधि आर्टि्फिसियल इन्टेलिजेन्सका रुपमा निकै उपयोगी लाग्यो पन्थीलाई । उनले चेलिबेटी बेचविखन रोक्न सक्रिय रहेको माइती नेपाललाई यस्तो प्रविधि उपलब्ध गराउन सहयोग गर्न ती दुई भारतीयलाई प्रस्ताव गरे । उनको प्रस्ताव स्वीकृत भएपछि उनीहरु माइती नेपालसँग कुरा गर्न नेपाल आए । अमेरिकामा नाउ ट्राकइट कम्पनी चलाइरहेका पन्थीले आफ्नो कम्पनीका तर्फबाट उक्त प्रविधि माइती नेपाललाई हस्तान्तरण गरेका हुन् । अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टि्फिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क हस्तान्तरण गरेका हुन् ।

 

‘खोजी’ नाम दिइएको यस एपको माध्यमले पीडित र पिडकको पहिचान गरी पीडितको उद्धार गर्न र अपराधीलाई कानूनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुनेछ । यस कार्यबाट सम्भावित पिडीतको अग्रिम बचाउ हुनुका साथै पिडीतलाई पनि उद्धार गर्न सकिने माइती नेपालले जानकारी दिएको छ । यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने र मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दावी छ । खोजी एपले फोटो नभएकाहरुको नजिकका आफन्तसँग मिल्ने अनुहारसमेत पत्ता लगाउँछ । यसले उही ब्यक्ति हो हैन भन्ने छुट्याउन सहज हुन्छ । नाउट्राकइट कम्पनीले माइती नेपालको नेपाल–भारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरुलाई ’खोजी’ मोवाइल एप इन्स्टल भएको मोवाइल फोन निःशुल्क उपलब्ध गराएको छ । यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरुलाई तालिमसमेत प्रदान गरेको छ । परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन र तत्कालसबै ठाउँमा उजुरी पुर्याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टलसमेत कम्पनीले निशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए ।

 

माइती नेपाल यस्तो प्रविधि प्रयोग गरेर अपराधी तथा हराएका चेलीहरु खोज्ने विश्वकै पहिलो सामाजिक संस्था भएको पन्थीको दावी छ । नाउट्राकइट कम्पनीले नेपाल प्रहरीसँग समेत अपराधीको खोजी गर्न यस्तो प्रविधि प्रयोगमा ल्याउन छलफल गरिरहेको जनाएको छ । भारतमा समेत तामिलनाडु प्रहरीका अधिकृतहरुले यस प्रविधिको प्रयोग गरिहेको उनले बताए । अन्यत्र यस्तो प्रविधि उपलब्ध गराउँदा आफ्नो कम्पनीले १० लाख डलर (करिव १० करोड रुपैयाँ) शुल्क लिने पन्थीले बताए । माइती नेपालकी संस्थापक अनुराधा कोइराले हराएका चेली र अपराधी पत्ता लगाउन खोजी एप निकै उपयोगी हुने बताइन् ।

प्रकाशित : ८ पुष २०७४, शनिबार २१:२५