रानीपोखरी पुनःनिर्माणमा मेयर र उपमेयरको रडाको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रानीपोखरी पुनःनिर्माणमा मेयर र उपमेयरको रडाको



काठमाडौं । वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् ।

पुनःनिर्माणमा आधुनिक प्रविधि अपनाइएको विवाद उठिरहेको बेला मंगलबार बिहान उपमेयर हरिप्रभा खड्गीको टोलीले रानीपोखरीको मूलगेटमा तालाबन्दी गरेकोमा दिउँसो मेयर विद्यासुन्दर शाक्यको टोलीले ताला तोडेको हो ।

बिहान सम्पदाविद्हरुसहित रानीपोखरीको अवलोकनमा पुगेकी उपमेयर खड्गीले पुनःनिर्माण रोक्न निर्देशन दिँदै ताला लगाएकी थिइन् ।

मंगलबारै दिउँसो रानीपोखरी पुगेका मेयर शाक्यको टोलीले नगर प्रहरी लगाएर ताला तोडेको हो । आइतबार मात्र राजधानीमा भएको एक कार्यक्रममा रानीपोखरी पुननिर्माणका बारेमा गम्भीर बहस भएको थियो ।

बहसका क्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले मल्लकालीन इतिहाससंग जोडिएको रानीपोखरीजस्ता सम्पदालाई कसैले चाहेर पनि मास्न नसक्ने बताउँदै नेवार संस्कृति तथा मल्लकालीन सभ्यता बचाउन कंक्रिटबाट भइरहेको रानीपोखरीको पुनःनिर्माण कार्य तुरुन्त रोक्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य गगन थापाले काठमाडौंको नेवारी सभ्यता र संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने बताउँदै रानीपोखरी पुनःनिर्माणका क्रममा कंक्रिट हालिएकोप्रति पुरातत्वविद्हरूले आपत्ति जनाएका हुनाले यसको पुनः निर्माण तत्काल रोक्नुपर्ने धारणा व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विवादस्पद रुपमा भइरहेको रानीपोखरीको पुनःनिर्माण कार्यलाई आफूले रोक्ने कार्यमा सहयोग गर्ने बताइन् ।

भक्तपुरका तुल्सीलाल वासुकला, वडाध्यक्ष भाइराम खड्गी, आर्किटेक्चर सुदर्शनराज तिवारी, सोसाइटी अफ नेपाली आर्किटेक्टका अध्यक्ष सुमन वैद्यले रानीपोखरीलाई पुरानो शैली तथा प्रविधिबाट निर्माण गर्नुपर्ने तथा हाल भइरहेको निर्माण कार्य तुरुन्त रोक्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार २०:२०