अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा,उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा,उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने



काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो ।

एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने तय भएको आयोजकले जानकारी दिएका छन् । एक्स्पोको उद्घाटन कार्यक्रम यही पुष २१ गते शुक्रबार हुने छ । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।

राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक\वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । विशेष गरी सिएमसी इटली, भोइथ जर्मनी, क्रिष्टल इन्डिया, भप्टीच बुल्गेरिया फ्लोभेल इन्डिया, पावर चाइना, सिएसइसि चाइना जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने निश्चित भएको छ ।

दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने आयोजक संस्थाले विश्वास गरेको छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन हुनेछन् । पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने छ ।

हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा

यसैगरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार १६:०६