बाढी तथा अग्निपीडितले सहुलियतमा कर्जा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बाढी तथा अग्निपीडितले सहुलियतमा कर्जा पाउने



काठमाडौं । सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण पाउने भएका हुन् ।

यसका लागि पीडितहरुले जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिस जुटाउनु पर्नेछ । घर पुनर्निर्माणका लागि उपलब्ध हुने यस्तो कर्जा सरकारी कारोबार गर्ने बैंकहरुले जारी गर्न पाउनेछन् ।

सप्तरीमा बाढी तथा डुवानबाट घर र व्यवसायमा क्षति पुगेकाहरुले अधिकतम १५ लाख रुपैयाँ कर्जा पाउने छन् । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जा उपलब्ध गराउने छ ।

पीडितहरुले घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवनसंहिता र भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना भने गरेको हुनुपर्नेछ । राष्ट्र बैंकले बैंकहरुलाई शून्य व्याजदरमा उपलब्ध गराउने यो पुँजीमा अधिकतम दुई प्रतिशत मात्र व्याज लिन पाउनेछन् । बैंकहरुले यस्तो कर्जा प्रवाह गर्दा बीमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षणबाहेकका शुल्क लिन पाउने छैनन् ।

 

उक्त कर्जा जारी गर्दा राष्ट्र बैंकले एक वर्षको ग्रेस अवधि तोकिदिएको छ । अर्थात्, ऋणीले पहिलो वर्षमा तिर्नुपर्ने साँवा र व्याजको किस्ता नबुझाएमा पनि त्यसलाई खराब कर्जा मानिने छैन ।

कर्जा भुक्तानीको अवधि पाँचदेखि १० वर्ष तोकिएको छ । बैंकहरुले पुनर्कर्जा एक पटक मात्र लिन पाउने छन् । यसरी लिएको पुँजी सम्बन्धित शीर्षकमा मात्र लगानी गर्न पाइने छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा अधिकतम चार चरणमा गर्न सक्नेछन् । वित्तीय संस्था कर्जा प्रवाह गरेको मासिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले उद्दार समितिको सिफारिस सही भए÷नभएको पनि यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर रकम मात्र राष्ट्र बैंकबाट पुनर्कर्जाको रुपमा प्राप्त गर्नेछन् । यस्तो कर्जाको जोखिम भार भने ६० प्रतिशतबराबर नै हुनेछ ।

प्रकाशित : २५ पुष २०७४, मंगलवार १६:१२