उत्पादन र प्रवर्द्धनमा अग्रसर निम्बस समूह स्वदेशलाई केमिकल हब बनाउन यसरी उठाउदै छ जोखिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

उत्पादन र प्रवर्द्धनमा अग्रसर निम्बस समूह स्वदेशलाई केमिकल हब बनाउन यसरी उठाउदै छ जोखिम



हेटाैडा । कृषिजन्य उद्योगमा ‘एग्रेसिभ’ लगानी गरेको निम्बस समूहले  इमल्सन र पेन्टस् बकेट उत्पादन गर्ने तयारी सुरु गरेको छ । करिब ८० करोड लगानीमा सुरु गर्न लागिएको उद्योगले नेपाली बजारमा पेन्टस्को प्रयोग बढ्दै गएकाले उक्त उद्योग  ल्याउने तयारीमा लागेको हो ।

सञ्चालनमा अाउन लागेको उक्त नयाँ उद्योगको स्थापना गर्ने तयारी  अन्तिम चरणमा पुर्याएको छ । ‘बहुराष्ट्रिय कम्पनीहरुलाई बिक्री गर्ने लक्ष्यकासाथ हामीले नयाँ प्लान्ट लगाउन लागेका छौं ’ कम्पनीका फ्याट्री मेनेजर शैलेस लामिछानेले भने ।  स्वदेशी केमिकल हब बनाउने उदेश्यले वृहत अध्ययनपछि इमल्सनसहितका अन्य तीन प्लान्टमा  लगानी थप्ने जोखिम उठाएको बताए । हाल कम्पनीले बिभिन्न आकारमा ड्रमहरुको निर्माण गरिरहेको छ भने केहि समयभित्रै रंग उद्योगहरुका लागि बिभिन्न आकारमा बट्टाहरुको निर्माण थाल्ने तयारी गरेको छ । रंग हाल्ने बट्टाहरु हाल ५० प्रतिशतको हाराहारीमा आयात भैरहेकाे उनले जानकारी दिए ।

कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाका अनुसार इमल्सन प्लान्टले मासिक ५ सय टन उत्पादन क्षमता राख्छ। हाल बजारमा इमल्सनको मासिक माग १२ सय टन रहेको अनुमान गरिन्छ । एसियन पेन्ट, बर्जर, लगायतका ठुला कम्पनीले इमल्सन खरिद गर्ने संकेत दिएको बगरियाले जानकारी दिए  ।

५० प्रतिशत हिस्सा भने नेपाली कम्पनीहरुकै उत्पादनले धानिरहेको छ । दैनिक १५ सय वटा बाल्टिन उत्पादन क्षमताको प्लान्ट जडान गर्न लागिएको हो । कम्पनीले फेब्रिक ब्यागका लागि कपडाको पनि उत्पादन गरिरहेको छ ।

उत्पादन र प्रवर्द्धनमा अग्रसर

ट्रेडिङ कम्पनीबाट सुरुवात गरेको निम्बसले केही वर्षको अन्तरालपछि कुनै ज्ञान र अनुभव बिना नै पोल्ट्री उद्योगमा हात हालेको थियो।कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन् ‘ जुन बेला अाफै काम गर्छु भनेर सुरु गरेको थिए त्यो बेला  खर्च कसरी चलाउने भन्नेमा नै केन्द्रित थियो ,कम्पनीको गतिशील परिवर्तनको फलस्वरुप कम्पनी कृषि व्यवसायमा अब्बल सावित भएको छ,अब विस्तारै हामी खाद्यान्न उत्पादनलाई पनि जोड दिएर अगाडी बढ्ने तयारीमा लागेका छाै । ’

निम्बस होल्डिङ्ग अन्तर्गतको प्रो वायोटिक इण्डस्ट्रिजले व्यञ्जन ब्राण्डमा उच्च गुणस्तरयुक्त दुई प्रकारको खानेतेल  समेत बजारमा बिक्री गर्दै अाएको छ। व्यञ्जन ब्राण्डअन्तर्गत सूर्यमुखि र तोरीको खानेतेल बजारमा छन् ।

नेपाली बजारमा उपलब्ध खानेतेल त्यति गुणस्तरयुक्त छैंन, बजारमा पाइने हरेक तेलमा कुनै न कुनै समस्या भेटिएका छन्,’ प्रवन्ध निर्देशक वगरियाले भने,‘तर हामीले गुणस्तर र तेलको मौलिक गुणसँग कुनै सम्झौता गरेका छैनौं । विकसित मुलुकमा प्रयोग हुने प्रविधि र कच्चा पदार्थको प्रयोग गरी नेपालमै युरोपिएन स्टाण्डर्डको उच्च गुणस्तरको तेल उत्पादन गरी बजारमा ल्याएका छौं ।’ यो समूह हाल पशु स्वास्थ्य र पोषण, लाइभस्टक फिड र पूरक, रासायनिक र रेजिन, प्लाष्टिक र ट्रेडिङको क्षेत्रमा संलग्न छ ।  हेटौडा औद्योगिक क्षेत्रको करिब २५० रोपनी क्षेत्रफलमा बिभिन्न ७ प्रकारका केमिकल, पोलि ओभन फेब्रिक र प्लाष्टिकको ड्रमलगायतका केमिकलमा आधारित उत्पादन मूलक उद्योग संचालन गर्दै आएको छ ।

यस औद्योगिक क्षेत्रमा निम्बस ग्रुपले करिब २ अर्ब लगानी गरेर ती उद्योग संचालन गरिरहेको छ ।निम्बसले भारतसहित तेश्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी पेलेर तेल उत्पादन गर्दैआएको छ । चाढै नै कम्पनीले दाल लगायतका अन्य खाद्य वस्तु समेत  उत्पादन गर्न तमतयार रहेको बताएको छ ।

निम्बस होल्डिङ अन्तर्गत प्रो वायोटेक ईन्डस्ट्रिज, प्रोजियोचेम ईन्डस्ट्रिज, निम्बस इन्टरनेसनल कम्पनी, फैव्रिक प्लास्टिक उद्योग र निम्बस कृषि केन्द्र सञ्चालनमा छ । यो समूहको पशुपन्छीको पैलेट दाना निकै लोकप्रिय छ ।

भन्सार शुल्कको मार

२०६७ सालदेखि   करिब ४० करोडको लगानीमा हेटौडा औद्योगिक क्षेत्रमा संचालनमा रहेको मासिक ४ सय टन उत्पादन क्षमताको भएको कम्पनी उच्च भन्सार दरका कारण आयातित वस्तुसँग प्रतिष्पर्धा गर्न नसकेपछि  डिओपी प्लान्ट बन्द गर्ने तयारीमा लागेको छ । कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन् ‘नेपालमा उद्योग चलाउनु भनेको सबै भन्दा कठिन काम हो, कच्चा पदार्थको भन्दा तयारी समानको भन्सार कम छ, अनि हामीले कसरी उद्योग चलाउन सक्छौं, सरकारले औद्योगीकरण गर्ने भन्छ तर भन्सार दरमै न्याय गर्न सकेको छैन , तयारी उत्पादन भन्दा कच्चा पदार्थमा बढि भन्सार कर लगाइएको छ ।

यसले हामीले यहाँ उत्पादन गरेर बिदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नै नसक्ने अबस्था छ।’ ९ महिनामा सरकार परिवर्तन हुने र सरकार परिवर्तनसंगै अाउने नेतृत्वको वेवास्ताका कारण धेरै उद्योगहरु मारमा परेको बगरियाको भनाई छ ।

फ्याट्री मेनेजर शैलेस लामिछानेका अनुसार बिदेशबाट आउने तयारी उत्पादनमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ तर हामीले कच्चा पदार्थ ल्याउँदा करिब १५/२० प्रतिशत भन्सार शुल्क तिर्नु पर्छ ।  तयारी उत्पादन र कच्चा पदार्थको भन्सार दर फरक छ, तयारी समानको भन्दा कच्चा पदार्थको भन्सार दर बढि भएपछि प्रतिष्पर्धी क्षमता गुम्दै गए पछि  डिओपी उत्पादन बन्द  हुन लागेको हो ।

प्रकाशित : ७ माघ २०७४, आईतवार ०६:३४