साझा यातायातले २९ वटा बस थप्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साझा यातायातले २९ वटा बस थप्ने



ललितपुर । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ ।

डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने उहाँले बताउनु भयाे । उहाँले भन्नुभयो, “बस उपत्यका आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ र त्यसपछि नै रुट कता लिने भन्ने हुन्छ ।”

काठमाडौँ उपत्यकाबाहिर अहिले साझाका दुईवटा बस काठमाडौँ–बाग्लुङ रुटमा गुडिरहेका छन् । डिलक्स बस यही रुटमा थप्ने वा अन्य जिल्लामा भन्ने निर्णय भइसकेको छैन । काठमाडौँ उपत्यकामा चल्ने सिटी बसका लागि भने धेरै ठाउँबाट माग भएको छ ।

नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि इच्छुक देखिएका छन् । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग रहेको छ ।”

काठमाडौँ उपत्यकामा ४४ र उपत्यकाबाहिर दुईवटा गरेर अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् ।

 

प्रकाशित : १८ माघ २०७४, बिहीबार १२:०५