अनिलकालागि नबिलले राष्ट्र बैंकको नियम किन लत्यायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अनिलकालागि नबिलले राष्ट्र बैंकको नियम किन लत्यायो ?



काठमाडाै । नविल बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिलकेशरी शाहलाई नियुक्त गरेको छ ।बिहीबार बसेको बैंक सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।

 

राष्ट्र बैंकले वित्तीय सुशाशन कायम गर्न भन्दै लागू गरेको ‘६ महिने कुलिङ पिरियड’ लाई नबिलले ठाडो चुनौती दिई बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा बैंकर अनिल शाहलाई नियुक्तगर्दै राष्ट्र बैंकलाई ‘पंगु’ बनाएको हो  ।

 

मेगा बैंकमा पदभार रहंदा नै सेन्चुरीसंगको सम्झौता तोड्दै नबिल जान ठिक्क परेका शाहलाई ‘राष्ट्र बैंकको ६ महिने कुलिङ पिरियड’ ले रोकेपछि नबिलले डिपुटी बनाएर नै बैंक भित्र्याएको हो। शाहले ६ महिना निमित्त सिइओका रूपमा काम गर्नेछन् भने त्यसपछि उनलाई सिइओमा बढुवा गरिनेछ।

 

गत पुस १३ गते बैंक सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर राष्ट्र बैंकले सोही दिन परिपत्र गर्दै ‘६ महिने कुलिङ पिरियड’ लागू गरेपछि शशिन जोशीको उत्तराधिकारी बन्ने शाहको योजना तुहिएको हो।

 

पुस १५ गते मात्रै बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा शाहलाई नियुक्त गर्ने पुरानो निर्णय रद्द गरेको थियो लगत्तै तीन दिनपछि पुन बैंठक बसी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।

 

एक संस्थाबाट अर्को संस्थाको नेतृत्वमा सिधै जाँदा स्वार्थ बाझिने भएकाले राष्ट्र बैंकले ६ महिना संस्था बाहिर बस्नुपर्ने नियम (कुलिङ पिरियड) को व्यवस्था गरेको थियो। तर नबिल बैंकको बठ्याईले यस पटक पनि राष्ट्र बैंकको नियम लत्याइएको छ।

प्रकाशित : १९ माघ २०७४, शुक्रबार १०:३५