दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु



 काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैंकिङ एक्स्पो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए । वित्तीय कारोबार कसरी गर्ने भन्ने जानकारी दिनका लागि वित्तीय कारोबार गर्ने सम्पूर्ण संस्थाहरुलाई बैंकिङ एक्स्पोले एकै छानामुनि समेटेको भन्दै उनले यसबाट भरपूर फाइदा लिन सुझाए । पढेर नजानिने तर गरेर जानिने उद्यमशीलतासम्बन्धी जानकारीहरु बैंकिङ एक्स्पोबाट लिन सकिने गभर्नर डा. नेपालले बताए ।

वित्तीय चेतना नभएका कारण सर्वसाधारणमा बचत गर्ने बानीको विकास नभएको उनको भनाइ थियो । अन्य विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने उनको भनाइ थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बचत गरौँ भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरु मिलेर सामुहिक रुपमा प्रचार गर्न सकेमा बढी प्रभावकारी हुने बताए । बैंकिङ एक्स्पोले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय क्षेत्रका सबै संस्थाहरुलाइ समेटेको हुँदा यो कार्यक्रमले सर्वसाधारणमा बैंकिङ चेतना बढाउन ठूलो भूमिका खेल्ने बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताए । आर्थिक कारोबारलाई बढाउन मद्दत गर्ने उद्देश्यले संचालन गरिएको बैंकिङ एक्स्पो जस्ता कार्यक्रमलाई युवा स्वरोजगार कोषले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताए । बचत परिचालन गरेपछि लगानी गर्ने संस्थाहरुले लगानीको सदुपयोग भएको छ कि छैन, परिचालित कर्जाले आर्थिक समृद्धिमा मद्दत पुर्याएको छ कि छैन सो कुराको मूल्यांकन समेत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले एक्स्पोमा सहभागी हुने र स्टल अवलोकन गर्ने युवाहरुले आर्थिक समृद्धि र उद्यमशीलता विकासमा भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । अहिले ४० प्रतिशत मात्रै रहेको बैंकिङ पहुँचलाई बढाउनु आवयश्यक रहेको र यसमा नियामक राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारी नीतिलाई विकास बैंकहरुले पनि सहयोग गरिरहेको खनालले जानकारी दिए ।

त्यस्तै, वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बचत गर्ने र एकाउन्ट खोल्न लगाउने मात्रै नभएर बैंक खाताबाट फाइदा कसरी लिने, बचत गरेको रकमको परिचालन कसरी गर्ने लगायतका विषयमा पनि जानकारी दिनु जरुरी रहेको बताए । कर्जा लगानी गर्नका लागि निक्षेप चाहिने भएकाले कर्जाको मात्रै भन्दा पनि निक्षेपको प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो । यी सबै कुरामा ध्यान दिन सके मात्रै वित्तीय साक्षरसम्बन्धी कार्यक्रमहरु सफल हुनेमा उनले जोड दिए ।

नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका उपाध्यक्ष एवं लक्ष्मी लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बैंकिङ एक्स्पोले वित्तीय चेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रमलाई लघुवित्तका माध्यकबाट धेरै ठाउँमा वित्तीय पहुँच पुगेको छ तर त्योमात्रै पर्याप्त नभएर यस्ता कार्यक्रम विभिन्न ठाउँमा विभिन्न समयमा आयोजना गरिनु आवश्यक छ ।

कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ एक्स्पो कार्यक्रम वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत संचालन गरिएको एक्स्पोले विशेषतः मेनेजमेन्ट अध्ययन गरेका र गरिरहेका विद्यार्थी वर्ग, उद्यमशील युवा र स्वरोजगार बन्न चाहने युवाहरुका लागि अत्यावश्यकीय जानकारी प्रदान गर्ने बताए । उनले एक्स्पोमा संचालन गरिएका स्टलहरुको अवलोकन गरि आफूले बैंक वित्तबारे चाहेको जानकारी लिन अनुरोध गरे ।

एक्स्पो कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका साथमा बीमा, रेमिट्यान्स, सेयर बजार लगायतसँग सम्बन्धित संस्थाहरुको ५० को हाराहारीमा सूचनामूलक स्टलहरु रहेका थिए । एक्स्पोको पहिलो दिन हजारौँ युवाहरुले स्टल अवलोकन गरेको कार्यक्रम संयोजक निर्दोषले जानकारी दिए । मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् ।

प्रकाशित : १९ माघ २०७४, शुक्रबार १६:३९