सहकारीमा कालो धन छैनःबडाल (भिडियो सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीमा कालो धन छैनःबडाल (भिडियो सहित )



काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमा कालो धन नभएको दाबी गरेका छन् । अध्यक्ष बडालले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद, हतियारधारीहरुको पैसा नभएको जिकिर गरे । ‘सहकारीमा सम्पत्ति सुद्धिकरण लागू हुनु आपत्तिजक विषय होइन’ उनले भने ‘सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोबार हुने गरेको छ ।’  नेपाल सहकारी  पत्रकार समाजले अायोजना गरेकाे अन्तरक्रिया  कार्यक्रममा बोल्दै उनले  सम्पति सुद्धिकरण सहकारीलाई दण्ड दिने भन्दा पनि स्वच्छ र व्यवस्थित बनाउनतर्फ लाग्नुपर्ने बताए ।

राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी संशकित हुनुभन्दा पनि थप व्यवस्थित गर्न लाग्नुपर्ने बताए । कार्यान्ववयन चुनौती भएपनि सरोकारवाला निकाय सबैको समन्वयमा सहजै कार्यान्वयन गर्न सकिने उनको भनाई छ । निर्देशिकाले सहकारीलाई डकुमेन्टेसन गर्न वाध्य बनाएको र यसले सहकारी व्यवस्थित बन्न सघाउ पुग्ने बताए । ‘दश वर्षसम्म सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण ऐन लागू नहुनु दुःखद् कुरा हो’ नेपालले भने , ‘सहकारीलाई सही बाटोमा हिँडाउन निर्देशिकाले अभिप्रेरित गर्नेछ ।’

कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा सम्पत्ति सुद्धिकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभुन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न आग्रह गरे । ‘सहकारीमा स्वच्छ कारोबार भइरहेको छ भन्ने सन्देश दिनका लागि पनि निर्देशिका कार्यान्वयनमा जानुको विकल्प छैन’ उनले भने ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले काठमाडौंका सहकारीमा तुलनात्मकरुपमा बढी विकृती भएको बताए । निर्देशिका काठमाडौंका सहकारीमा पूर्ण रुपमा कार्यान्वयन गर्न सके देशभरी नै लागू हुन सहज हुने बताए । ‘कानुन, नीति, नियम स्वीकार नगर्ने सहकारीहरु सहकारी नै होइन’ उनले भने, ‘कतिपय सहकारी नीति, नियममा बस्नुपर्ने भएकाले नेफ्स्कुनको सदस्यसमेत बन्नेका छैनन् ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी सम्पत्ति सुद्धिकरण निर्देशिका कमाई खाने भाडोँ बन्न नहुने बताए ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार १६:३०