दोस्रो सहकारी महासम्मेलन चैत २१ र २२ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दोस्रो सहकारी महासम्मेलन चैत २१ र २२ गते हुने



काठमाडौ । नेपालको सहकारी अभियानको हालसम्म भएका उपलब्धीहरुको समीक्षा गर्दै आगामी ५ वर्षका लागि दिशानिर्देश गर्ने उद्देश्यका साथ सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ नेपाल र सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा २०७४ को चैत २१ र २२ गते काठमाडौंमा दोस्रो सहकारी महासम्मेलन गर्ने निर्णय भएको छ ।

महासम्मेलनमा विश्व सहकारी अभियानकोे शीर्षस्थ निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघका नव निर्वाचित अध्यक्ष एरियल ग्वार्काे विशेष अतिथिको रूपमा र अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रीय वोर्डका सदस्यहरूको अतिथिको रूपमा सहभागिता रहने भएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय, प्रादेशिक र संघीय सरकारको भूमिका, संरचना र नीति, दिगो विकास लक्ष्य प्राप्तिको कार्यान्वयनमा सहकारी क्षेत्रको सहभागिता, नेपालको सहकारी अभियानको सन् २०२२ सम्मको परिकल्पना, तीन खम्वे अर्थनीतिको सन्दर्भमा सार्वजनिक, सहकारी र निजी क्षेत्रवीचको सहकार्य लगायतका विषयवस्तुहरूमा देश÷विदेशका विषय विज्ञहरूद्धारा कार्यपत्र प्रस्तुत गरी निष्कर्ष निकालिने भएको छ । सहकारी संघ÷संस्था, सहकारी सम्वद्ध सरकारी तथा गैह्सरकारी निकायका प्रतिनिधिहरू करिव १ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ ।

महासम्मेलन भव्यरुपमा सम्पन्न गर्नका लागि २०७४ माघ २९ गते आइतबारका दिन पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघ, नेपालको सभाहलमा मूल समारोह समितिको बैठक बसी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठक महासंघका अध्यक्ष केशव बडालको अध्यक्षतामा महासंघका पदाधिकारीहरू, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय सहकारी विकास वोर्डका सह—अध्यक्ष दक्ष पौडेल, सहकारी विभागका रजिष्ट्रार केशव प्रसाद रेग्मी तथा एवं विषयगत केन्द्रीय संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकले मूल समारोह समितिले गरेका निर्णयहरुलाई छिटो छरितो कार्यान्वयन गर्नका लागि महासंघका अध्यक्ष केशव प्रसाद बडालको संयोजकत्वमा १३ सदस्यीय स्टेरिङ्ग कमिटी निर्माण गरेको छ । सो समितिको सदस्यमा सहकारी तथा गरिवी निवारण मन्त्रालयाका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, संचालकद्वय रविन्द्र केसी र सुरेन्द्र भण्डारी , सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीलगायत रहनुभएको छ ।

महासम्मेलनलाई व्यवस्थित र प्रभावकारी रुपमा आयोजना गर्नका लागि महासंघका संचालक माधव दुलालको संयोजकत्वमा व्यवस्थापन उपसमिति, संचालक रमेश प्रसाद पोखरेलको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन उपसमिति, संचालक चन्द्रप्रसाद ढकालको संयोजकत्वमा सूचना तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ । यस अघि पहिलो राष्ट्रिय सहकारी महासमेलन २०७० को चैत ११ देखि १३ सम्म काठमाडौंमा भएको थियो ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १८:१८