बेनीमा सडक स्तरोन्नती थालियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बेनीमा सडक स्तरोन्नती थालियो



बाबियाचौर । सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ ।

ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा रु ४३ लाखको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिनुभयो ।

सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम गरिने उहाँले बताउनुभयो । रु २० लाख विनियोजन गरिएको खबरा–भीरकुना–कन्थारथान–भकुण्डे सडकको काम उपभोक्ता समिति गठन गरेर भइरहेको छ ।

यस्तै, रु पाँच लाखमा बाङगेरा–पिपलडाँडा–भकुण्डे सडक फराकिलो बनाउने काम अन्तिमचरणमा पुगेको छ । उक्त सडकमा सोलिङ र नाली बनाउने काम बाँकी छ । कोटखोला–उपल्लोफाँट–बालथारा हुँदै मरुवा सडक फराकिलो बनाउने काम सकिएको छ ।

यसैगरी, रु पाँच लाख विनियोजन भएको दारीम्बोट क्षेत्रमा सडक विस्तारसँगै सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा कार्यालय रहेको भकुण्डे–काउनाखर्क–गौश्वारा सडकअन्तर्गत ४०० मिटर ट्र्याक खोल्ने र स्तरोन्नती गर्न रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष थापाले बताउनुभयो । बिमीराबोट–मालीका सडक फराकिलो बनाउन तथा ठूलोगैरा–बिरायचौर सडकलाई रु डेढ÷डेढ लाख विनियोजन गरिएको छ ।

सिँचाइ योजनाको बजेट कटौती

बजेट कटौती भएपछि मंगला गाउँपालिका–२ सिमलचौरमा सञ्चालित नेवारेखोला सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ विकास सव डिभिजन कार्यालय बेनीले गत आवमा शुरु गरेको सो आयोजनामा चालु आवमा पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र परेको हो ।

चालु आवभित्र सकिनुपर्ने सो आयोजनाको बाँकी नहर निर्माण अझै शुरु हुन नसकेको स्थानीय कृषक खगराज पौडेलले बताउनुभयो । कस्केरी र सिमलचौरको २५ हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन आठ सय मिटर पक्की नहर निर्माण गर्ने लक्ष्यसहित उक्त आयोजना शुरु भएको थियो ।

सिमलचौरतर्फ थप ३७३ मिटर पक्की नहर निर्माण गर्न बाँकी छ । आयोजना निर्माणका लागि रामकृष्ण कन्स्ट्रक्सनसँग रु ३४ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । यसवर्ष रु २६ लाख बजेट आवश्यक पर्नेमा रु तीन लाख मात्र विनियोजन भएको छ । कन्स्ट्रक्सनका सञ्चालक प्रदीप सापकोटाले बजेट अभावमा कामअघि बढाउन नसकेको बताउनुभयो । उपभोक्ता समितिमार्फत गर्ने कामका लागि रु ११ लाख लागत अनुमान गरिए पनि सो बजेट प्राप्त नभएको उहाँको भनाइ छ ।

सव डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर दिनेशप्रसाद आचार्यले काम नभएको आयोजनाको बजेट रकमान्तर गरेर क्रमागत आयोजना सम्पन्न गराउन पहल गरिएको बताउनुभयो ।

रघुगंगाको कार्यालय स्थापना

रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालन गरेको छ । केन्द्र विवादका कारण स्थापनाकालदेखि सदरमुकाम बेनीबाट सञ्चालन हँुदै आएको थियो । मौवाफाँटमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको सो गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासनिकलगायत सबै गतिविधि मौवाफाँटबाट सञ्चालन हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिका घोषणा हुँदा अस्थायी केन्द्र पाखापानी तोकिएपछि पिप्ले, भगवती र बेगखोलका बासिन्दाले आन्दोलन गरेका थिए । गाउँपालिकाका दुई तिहाई जनप्रतिनिधिको मतका आधारमा पाखापानीबाट मौवाफाँटमा केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको हो ।

प्रकाशित : २३ फाल्गुन २०७४, बुधबार १४:२२