सामूहिक लगानी कोषमा गिरावट,जलविद्युत् कम्पनीको शेयर सयमुनि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामूहिक लगानी कोषमा गिरावट,जलविद्युत् कम्पनीको शेयर सयमुनि



–रमेश लम्साल

काठमाडौँ  । धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ ।

म्युचुअल फण्डको प्रतिएकाइको मूल्य रु १० रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये छ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको छ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि त्यस्ता फण्डको कारोबार हुने गरेको छ । शेयर बजारमा आएको निरन्तर गिरावटको प्रभाव म्युचुअल फण्डको कारोबारमा समेत देखिएको छ ।

स्टकमा सूचीकृत भएका मध्ये सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिइकाई मूल्य रु २० रहेको छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्मिक हो । दोस्रोमा नबिल ब्यालेन्स फण्ड रहेको छ । त्यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा रहेको छ । तेस्रोमा एनएमबी सुलभइन्भेस्टमेन्ट फण्ड रहेको छ । सो फण्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा रहेको छ ।

चौथोमा सिद्धार्थ इक्विटी स्किम रहेको छ । त्यसको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा रहेको छ । पाँचौँमा लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा रहेको छ । छैटाँैमा रहेको एनआइबिएल समृद्धि फण्डको प्रतिएकाइ मूल्य रु ११ रुपैयाँ १० पैसा रहेको छ ।

त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य आधार मूल्यभन्दा पनि तल पुगेको छ । कूल सामूहिक कोषमध्ये आधाभन्दा बढी सामूहिक लगानी कोष प्रतिएकाइ मूल्य ओरालो लाग्दा शेयर बजारमा समेत त्यसले प्रभाव पारेको जानकारको भनाइ छ । स्टकमा सूचीकृत भएको ग्लोबल आइएमई स्किम एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ९० पैसा रहेको छ भने लक्ष्मी इक्विटी फण्डको नौ रुपैयाँ ६० पैसा प्रतिएकाइ मूल्य रहेको छ ।

यस्तै, नबिल इक्विटी फण्डको नौ रुपैयाँ ४० पैसा, एनआइबिएल प्रगति फण्ड रु नौ, एनएमबी हाइब्रीड फण्डको नौ रुपैयाँ २२ पैसा, सानिमा इक्विटी फण्डको नौ रुपैयाँ ८० पैसा र सिद्धार्थ इक्विटी फण्डको नौ रुपैयाँ ६८ पैसामा प्रतिएकाइ बिक्री भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डमा अझै दुई सामूहिक लगानी कोष बिक्रीका लागि आवेदन दिइएको छ । बोर्डका अनुसार ग्लोबल आइएमई ब्यालेन्स फण्ड र एनआइबिएल सहभागिता कोषले आवेदन दिएको हो । ग्लोबल आइएमई ब्यालेन्स फण्डको रु एक अर्ब २० करोड बराबरको १२ करोड एकाइ र एनआइबीएल सहभागिता कोषको रु एक अर्ब ७० करोड बराबरको १७ करोड एकाइ सामूहिक लगानी कोष बिक्रीको तयारी गरिएको छ ।

जलविद्युत् कम्पनीको शेयर सयमुनि

सामूहिक लगानी कोषको मात्रै नभई जलविद्युत् कम्पनीको शेयर पनि आधारभूत मूल्यभन्दा तल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता रु १०० को शेयर घटेर रु ९८ मा आएको छ । यस्तै स्टकका सूचीकृत कूल १७ जलविद्युत् कम्पनीमध्ये १० वटा कम्पनीको शेयर प्रतिकित्ता रु २०० भन्दा तल रहेको छ ।

चिलिमे, सानिमा माई, अपि पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको मात्रै दोस्रो बजारमा शेयरको मूल्य रु २०० भन्दा माथि रहेको छ । अपि पावर कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु ३३७ रहेको छ । अरुण काबेली पावर लिमिटेडको रु २५२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १७४, बरुण हाइड्रो पावरको रु १७१, बुटवल पावर कम्पनीको रु ४८५, छ्याङदी हाइड्रो पावरको रु १५८ र चिलिमे हाइड्रो पावरको रु ७६६ प्रतिकित्ता शेयर कारोबार भएको छ ।

यस्तै दिव्यश्वेरी हाइड्रोको रु १२१, हिमालयन पावर पार्टनरको रु ३१६, खानीखोला हाइड्रो पावरको रु १३६, नेशनल हाइड्रो पावरको रु ९८, नेपाल हाइड्रो डेभलपर्सको रु १९४, ङ«ादी हाइड्रोको रु २०६, रिडी हाइड्रो पावरको रु १३०, सानिमा माई हाइड्रो पावरको रु ३३६, सिनर्जी हाइड्रोको रु १४० र युनाइटेड मोदीको रु १८५ प्रतिकित्ता शेयर कारोबार भइरहेको छ ।

‘क’ वर्गका बैंकको पनि उस्तै हालत

शेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकको हालत पनि उस्तै रहेको छ । जनता बैंक लिमिटेड, सेञ्चुरी कर्मसिएल बैंक र सिभिल बैंक लिमिटेको शेयर रु २०० भन्दा कम रहेको छ ।

जनता बैंकको प्रतिकित्ता शेयर रु १६२, सेञ्चुरी कर्मसिएल बैंकको शेयर प्रतिकित्ता रु १७७ र सिभिल बैंक लिमिटेडको प्रतिकित्ता रु १५० मा कारोबार भइरहेको छ ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १५:१७