काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै



काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न १२ बजेदेखि शुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र रुपमा समीक्षा गरिनेछ ।

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ ।

यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

निर्वाचनपछि काँग्रेसको यो पाँचौँ केन्द्रीय कार्यसमिति बैठक भए पनि हालसम्मका बैठकमा निर्वाचनको परिणामका बारेमा विस्तृत समीक्षा हुन सकेको थिएन । यसअघिका बैठक राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीको संसदीय दलको विधानमाथिको छलफल तथा निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायत विषयमा पार्टीका तर्फबाट निर्णय लिन केन्द्रित थिए ।

विस्तृत छलफलका क्रममा तीन÷चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उहाँले बताउनुभयो । पार्टीमा केही युवा नेताले समूह नै बनाएर नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएका छन् ।

बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भनी आलोचना गर्ने र सभापति देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाउ गर्ने तयारी गरेको बताइएको छ ।

मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसले हालै सम्पन्न २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४१ गरी ६३ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

त्यस्तै प्रदेशसभामा पनि अनपेक्षित परिणाम हासिल गरेको काँग्रेस यतिखेर सातै प्रदेश र संघीय संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा छ । यस परिस्थितिमा पार्टीको अबको कार्यदिशा तय गर्नका लागि यो बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १२:४९