लहडवाजीमा शेयर लगानी नगर्नुस्ः खतिवडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लहडवाजीमा शेयर लगानी नगर्नुस्ः खतिवडा



विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज यहाँ संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उहाँले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि रु १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पार्नु भयो ।

उहाँले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताउनुभयो । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उहाँले बताउनुभएको छ ।

मन्त्री खतिवडाले असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताउनुभयो । उहाँले भन्सारका कर्मचारीले मुस्कानसहितको काम गर्ने भएकाले सोहीअनुसार व्यापारीले इमान्दारीका साथ कर वुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउनसमेत आग्रह गर्नुभयो ।

भन्सारको कारणले व्यापारीले आयात गरेको सामान ढिलाई नभएको स्पष्ट गर्दै उहाँले पूर्वाधारको कमी र एकीकृत भन्सार जाँच चौकीको निर्माणमा ढिलाइले समस्या उत्पन्न भएकोले चाँडै नै समस्या समाधान हुने प्रष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै लहडवाजीमा शेयर लगानी नगर्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रबाट निर्माणाधीन पूर्वाधारमा विदेशी होइन स्वदेशी गुणस्तरीय सामाग्रीको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित : ११ चैत्र २०७४, आईतवार २१:४२