माटोका भाँडा बनाउने पेशा लोप हँुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माटोका भाँडा बनाउने पेशा लोप हँुदै



कृष्ण दर्नाल

पाल्पा।  कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।

पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो ।

माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको हो । माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् ।

कुमाल समुदायको १२० घरधुरी रहेको घोरबन्दामा अहिले भक्तबहादुर कुमाल र देवबहादुर कुमाल दुई घरपरिवारले पुख्र्याैली पेशाका माटोका भाँडा बनाउने काम अँगालेका छन् । अन्य सबै घरपरिवार माटोको भाँडा बनाउने कामबाट विस्थापित बनेका छन् ।

स्थानीय बासिन्दा भक्तबहादुर कुमालले भाँडा बनाउन माटो अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको उहाँको दुःखेसो छ ।

स्थानीयवासी कुलबहादुर कुमालका अनुसार माटो, दाउराको अभाव र युवा पुस्ताको पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरेपनि अहिले भाँडा बनाउन छाडेका छन् ।

पहिले आफूले पनि माटो बनाउने काम गरेका कुलबहादुर बुढेसकाल लागेपछि अहिले सो काम गर्न सक्दैनन् । पाल्पाको तानसेनस्थित प्रभाषको खेतबाट एक ट्र्याक्टर कालो माटोलाई रु दुई हजार तिर्नुपर्ने भक्तबहादुरको गुनासो छ ।

दशजना कामदार लगाएर माटो खन्नुपर्ने बाध्यता रहेको छ । कामदारलाई प्रतिव्यक्ति रु ५००, ढुवानी खर्च गरी घरमा ल्याउँदा भण्डै रु १० हजारजति खर्च हुने उहाँले बताए ।

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, वगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । करीब दश पन्ध वर्षअघि माटाका भाँडा बनाउने पेशाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो ।

पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको हो । परम्परादेखि माटाका भाँडा प्रयोग गर्दै आएका समुदायमा अहिले पूजापाठमा अतिआवश्यक भाँडामात्र प्रयोग हुँदै आएको कान्छी कुमालले बताए ।

पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका तीन हजार ६९५ गरी कूल जनसंख्या छ हजार ८०२ रहेको छ । कुमाल समुदायमा माटोका भाँडा बनाउने र माछा मारेर गुजारा चलाउने परम्परा रहे पनि अहिले त्यस्ता चलन भने विस्तारै हटेका छन् ।

स्थानीय सरकारले कुमाल समुदायका परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेशा व्यवसाय संरक्षण हुने बूढापाकाको भनाइ छ ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार १२:००