आगलागीबाट लाखौँको क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आगलागीबाट लाखौँको क्षति



ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीयवासी चन्द्रबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

मंगलबार दिउँसो सो घरमा आगलागी भएको थियो । करिब दुई सय मिटर मुनिरहेको सोगिरा भन्ने भिरमा स्थानीयवासीले लगाएको आगोको झिल्का फैलिएर छानामा पुगेपछि घरमा आगलागी भएको छिमेकी मनकुमारी कार्कीले बताए ।

आगलागीले तीनतले टिनको छानो भएको घर र घरभित्र राखिएकोे ठूलो परिमाणको काठ, अन्नपात, लत्ताकपडालगायतका सामग्री जल्दा करिब रु १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको तर मनबीय क्षति भने नभएको स्थानीयवासीको भनाइ छ ।

आगालागी पीडित परिवार भने अर्कै घरमा सरेर बसेका छन् । आगलागीपछि स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएको बताइएको छ ।

भिरमा आगो लगाउने व्यक्तिले भने जानजान आगो नलगाएको भन्दै क्षति बेहोर्ने बचन दिएको पीडित परिवारले बताएका छन् । पछिल्लो तीन महिनामा मात्रै ताप्लेजुङमा दर्जनांै घर जलेर नष्ट भएका छन् ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार १२:१४