संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संघीय संसद्मा राष्ट्रपतिको पहिलो सम्बोधन आज



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो ।

नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नुभएको यो पहिलो पटक हो ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नुहुनेछ ।

बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुहुनेछ । सम्बोधनपछि बैठक समाप्त हुने भएकाले अन्य कार्यसूची हुनेछैन । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार ११:२२