सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि



काठमाडौँ ।नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको छ । यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । उहाँको पार्थिव शरीर आज अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार १२:५३