युट्युबमा बजेको गीतको रोयल्टी कस्ले तिर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युट्युबमा बजेको गीतको रोयल्टी कस्ले तिर्ने ?

प्रकाशित मितिः १ असार २०७९



काठमाडौँ । सार्वजनिक यातायातमा गीत बजाएबापत रोयल्टी उठाउने नियम लगाइरहँदा ठूलो राशिमा कारोबार हुने डिजिटल प्लेटफर्म युट्युब भने रोयल्टीको दायरामा आउन सकेको छैन ।

द एक्स ब्यान्डका भोकलिस्ट शिव मुखियाले गत साता ‘म्युजिक नेपाललाई मुद्दा हाल्ने तयारीमा छु’ भन्दै रातो पृष्ठभूमि राखेर फेसबुकमा स्टाटस लेखे । यसमा प्रनिल एल तिमिल्सिना, शिव परियार, गिरीश खतिवडा, विजय लामा, भीषण मुकारुङलगायत संगीतकर्मीले पनि ‘हाल्नैपर्छ’ भन्ने आशयको कमेन्ट गरेका छन् । डिजिटल प्लेटफर्ममा सिन्डिकेट शैली अपनाएको, अर्काको सिर्जना बेचेर खाएको भन्दै उनीहरू आक्रोशित बनेका देखिन्थे ।

साथीभाइका कमेन्ट हेरेपछि शिव थप आश्चर्यमा परेका छन् । ‘म मात्र होइन, म्युजिक नेपालले सबैलाई मारमा पारेको रहेछ,’ उनी भन्छन्, ‘हाम्रो गीत हामीले हाम्रै च्यानलमा अपलोड गर्दा हामीमाथि नै कन्टेन्ट क्लेम हुन्छ । मैले जिन्दगीमा कहिल्यै म्युजिक नेपालसँग काम गरेको छैन । मेरो गीत कसरी उससँग पुग्यो ?’ म्युजिक नेपालले आफ्नो युट्युब च्यानलमा सन् २०१६ सेप्टेम्बर १० मा ‘द एक्स ब्यान्ड नेपाली एभरग्रिन पप सङ्स’ भन्दै अडियो जुक बक्स अपलोड गरेको छ ।

त्यसमा यो सातासम्म २ लाख १९ हजारभन्दा बढी भ्युज भइसकेको छ । ब्यान्डका ‘लुक्न देऊ मलाई तिम्रो केसमा…..,’ ‘चिया बारीमा….’, ‘ठाडो जाने उकाली….,’ ‘तिम्रो नजरले….,’ ‘प्रायः सधैं म…..’ जस्ता लोकप्रिय गीत जुक बक्समा छन् ।

नारायण गोपाल, तारादेवी, अरुण थापा, उदितनारायण झा, डेनी डेङ्जोङ्पा, झलकमान गन्धर्वदेखि नवीन के भट्टराई, अञ्जु पन्त, राजु लामा, रामजी खाँड, प्रमोद खरेल सबैका गीत संकलन गरेर अडियो वा भिडियो जुक बक्स बनाइएको छ । ती सबैमा लाख बढी भ्युज छन् ।

म्युजिक नेपालको च्यानलमा भएका गीत अन्य च्यानलले अपलोड गर्न चाहे युट्युबले मान्दैन । यसको सब्स्क्रिप्सन र भिडियो भ्युज धेरै भएकाले कलाकारको व्यक्तिगत च्यानलभन्दा म्युजिक नेपाललाई युट्युबले आधिकारिक मान्छ । यसरी आफ्नो गीत आफैंले चलाउन नपाएपछि कलाकारहरू आक्रोशित भएका हुन् ।

यसमाथि म्युजिक नेपालजस्ता कन्टेन्ट एग्रिगेटर्स (संकलक) ले म्यानुअल रोयल्टीबाट आउने करोडौं रुपैयाँ एक्लैले लिएपछि संगीतकर्मी झन् क्रुद्ध बन्नु स्वाभाविक भयो । ‘हाम्रो देशको संस्कृति मन्त्रालय के हेरेर बसेको छ ?’ गायक प्रनिल एल तिमिल्सिनाले शिवको स्टाटसमा कमेन्ट गरेका छन् ।

द एक्स ब्यान्डले सुरुका एल्बम निकाल्दा मुनलाइट, म्युजिक डट कम र धौलागिरि क्यासेट सेन्टरसँग सहकार्य गरेको थियो । त्यो पनि १० वर्षका लागि मात्र रोयल्टीसहितको वितरण अधिकार दिएको शिवले बताए । ‘ती कम्पनीले हाम्रा गीत अरूलाई बेच्नै पाउँदैनन्,’ उनी भन्छन्, ‘न हामीले कहिल्यै कसैलाई डिजिटल राइट दिएका छौं । यस्तोमा म्युजिक नेपालले कोसँग, के आधारमा हाम्रो गीत किनेर कुन साहसले युट्युबमा राख्यो ? गीत किनेको कागज त होला नि । किन्दै नकिनेको भए हाम्रो गीत किन चलाइरहेको छ ? म जवाफ खोज्दै छु ।’

गायक दीपक बज्राचार्य पनि आफ्ना गीत म्युजिक नेपालको च्यानलमा कसरी आइपुगे भनेर छक्क परेका थिए । यही बुझ्न उनी हालै अनामनगरस्थित म्युजिक नेपालको कार्यालय पुगे । त्यहाँ उनलाई गीतहरू ९बल्क० थोकमा खरिद गर्दा भएभरका सबै पर्न गएको बताइयो ।

दीपकले नम्र भावमै गीत हटाइदिन बिन्ती गरे । प्राविधिक कारणले त्यस्तो गर्न नमिल्ने भनियो । बरु, उनको च्यानलमा कन्टेन्ट आईडी क्लेम (कन्टेन्ट जुध्दा युट्युबले यस्तो क्लेम गर्छ) आउँदा क्लेम डिस्प्युट गर्न सिफारिस गरेको दीपक सुनाउँछन् । डिस्प्युटपश्चात् म्युजिक नेपालले अनुमति दिए उनले आफ्नो गीत आफ्नै च्यानलमा राख्न सक्छन् ।

‘म प्राविधिक मान्छे होइन,’ दीपक भन्छन्, ‘यस्ता कुरा धेरै बुझ्दिनँ । उहाँहरूले हाम्रा गीत अपलोड गर्नु नै गल्ती हो । तर, आजसम्म जे भयो, भयो, अब चाहिँ मेरा गीत मैले मेरो च्यानलमा राख्न पाउनुपर्छ भन्नेमा जोड दिइरहेको छु ।’ आफ्ना गीत जसले पायो उसले अपलोड गर्न थालेपछि दीपक युट्युबप्रति सचेत हुन थालेका छन् । पछिल्लो समय निकालेका गीतहरू आफ्नै नाममा खोलेको च्यानलमा राखिरहेका छन् भने पुराना गीतका लागि विभिन्न कन्टेन्ट एग्रिगेटर्ससँग सोधीखोजी गर्दै छन् ।

दीपकले पनि आफ्ना सुरुवाती एल्बमहरू ताल म्युजिक, न्यु मिडियाजस्ता तत्कालीन कम्पनीलाई रोयल्टीमा वितरण गर्ने अधिकार दिएका थिए । म्युजिक नेपालले दीपकलाई भनेअनुसार तिनै कम्पनीले दीपकका गीत म्युजिक नेपाललाई बेचेका हुन् । ‘ती कम्पनी कहाँ छन्, मलाई अत्तोपत्तो छैन,’ उनले भने, ‘तर, कसैले बेच्छु भन्दैमा कुरै नबुझी किन्ने त ? मैले सिंहदरबार बेच्छु भनेँ भने तपार्इं किन्नुहुन्छ ? कागजपत्रबिनै अरूको गीत किन्न मिल्छ ?’

सन् २०११ मा युट्युब च्यानल खोलेको म्युजिक नेपाल अहिले नेपालको सबैभन्दा बढी सब्स्क्राइबर भएको च्यानल हो । युट्युबको तथ्यांक राख्ने सोसलब्लेड डट कमका अनुसार सोमबारसम्म यसको झन्डै १७ लाख सब्स्क्रिप्सन हुनुका साथै १ अर्ब ५७ करोड ९० लाख ५ हजार ५ सय २२ भिडियो भ्युज थियो । कम्पनीले मासिक १३ लाखदेखि साढे २ करोडसम्म आम्दानी गर्ने सोसलब्लेडको अनुमान छ । ‘आर्टिस्टहरू यस्तो युट्युब जायन्टसँग लड्न डराइरहेका छन्,’ एक्स ब्यान्डका शिव भन्छन्, ‘यता आफ्नो च्यानलमा वाचिङ आवर नपुगेर भिडियो मोनिटाइज गर्न सकिएको छैन, उता कम्पनीले गीत खर्लप्पै खाइसक्यो ।’

सोसलब्लेडको तथ्यांकअनुसार म्युजिक नेपालपछि बुढासुब्बा डिजिटल, सङस नेपाल, ओएसआर डिजिटल र रामसार मिडिया सबैभन्दा बढी सब्स्क्राइबर भएका नेपालका टप फाइभ युट्युब च्यानल हुन् । यी सबैले नेपाली गीत, फिल्म, टेलिशृंखला आदि राख्ने गरेका छन् । आफूलाई म्युजिक बैंक भनेर चिनाउने म्युजिक नेपालसँग २५ हजारभन्दा बढी गीत रहेको च्यानलकै परिचय खण्डमा उल्लेख छ । ती गीत कुनै आफ्नै कम्पनीका उत्पादन र कोहीचाहिँ अन्य म्युजिक कम्पनीबाट प्राप्त भएको म्युजिक नेपालका उत्तम थापाले बताए । उनका अनुसार म्युजिक नेपालको चार सयभन्दा बढी म्युजिक कम्पनीसँग गठबन्धन छ ।

लोभलाग्दो भ्युज र सब्स्क्रिप्सन भएका कुनै पनि च्यानलले युट्युबबाट प्राप्त रेमिट्यान्स रोयल्टी कलाकर्मीसँग सेयर नगरेको संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले बताए । ‘हामीले सन् २०१६ मा युट्युबसँग सम्झौता गरेका थियौं,’ रोयल्टी संकलन समाजकी सीईओ मीनाक्षी कोइराला भन्छिन्, ‘मनिटाइजको प्रक्रियामा आउन समय लाग्छ भनेका छन् । यो नभएसम्म क्रिएटिभ रोयल्टी पाइँदैन ।’

मिनाक्षीका अनुसार युट्युबले मेकानिकल र क्रिएटिभ गरी दुई थरी रोयल्टी दिन्छ । अहिलेसम्म हामीले मेकानिकल रोयल्टी मात्र पाइरहेका छौं । क्रिएटिभ रोयल्टी नपाएकाले संगीत रोयल्टी संकलन समाज कुनै पनि एग्रिगेटर्स वा युट्युब एकाउन्ट होल्डरसँग रोयल्टी दाबी गर्न सक्ने अवस्थामा छैन । महासचिव खडकाचाहिँ युट्युबका प्रावधानलाई आधार बनाएर विभिन्न जालसाजी भइरहेको बताउँछन् । आफूहरूले आजसम्म कुनै युट्युब च्यानलबाट एक सुका रोयल्टी नपाएको संगीतकार खडकाले बताए ।

म्युजिक नेपाल र सङ्स नेपालजस्ता च्यानल भने आफूले रोयल्टी वितरण गर्दै आएको दाबी गर्छन् । म्युजिक नेपालका थापाले निरन्तर रोयल्टी बुझाउँदै आएको कान्तिपुरलाई बताए । ‘कम्पनी वा वनर प्रोड्युसरलाई युट्युबको रोयल्टी दिने गरेका छौं,’ उनले भने, ‘कन्टेन्ट आईडी क्लेमको कुराचाहिँ युट्युबको सिस्टमले गर्दा हो । हामीलाई सम्पर्क गरे कुरा सजिलै सेटल भइहाल्छ ।’ सङ्स नेपालका भिडियो म्यानेजर अदुल मानन्धर पनि प्रत्येक तीन महिनामा रोयल्टी बुझाउने गरेको बताउँछन् । सर्जक र म्युजिक नेपालबीच ५०–५० प्रतिशतमा सम्झौता हुने गरेको उनको भनाइ छ । (कान्तिपुर दैनिक)

प्रकाशित : २० चैत्र २०७४, मंगलवार ०८:१८