अलैँचीको गुणस्तर कायम राख्न सक्षम भएको डिल्लीरामको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अलैँचीको गुणस्तर कायम राख्न सक्षम भएको डिल्लीरामको दाबी

प्रकाशित मितिः १ असार २०७९



–प्रकाश धौलाकोटी
तेह्रथुम ।  पैंतीस सालतिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा उहाँलाई त्यसको महत्व कत्ति पनि थाहा थिएन । बरु ‘अलैँचीे खेती गरेर पनि बिहान बेलुकाको छाक टर्ला र ?’ भन्ने प्रश्न उब्जिन्थ्यो उहाँको मनमा । बिहान–बेलुका दुई छाक टार्न र मर्दा–पर्दा काम लाग्ला भनेर दुई रुपैयाँ जम्मा गर्नु बाहेक उहाँका अरु धेरै सपना पनि थिएनन् । त्यतिबेला लहै–लहैमा अलैँची खेती थालेका ती नै व्यक्ति अहिले अलैँची खेतीमा खुशी खुशी लाग्नुभएको छ ।

बिहानदेखि साँझसम्म अलैँची बगान स्याहार गरेर बिताउनुहुन्छ उहाँ । उहाँको अलैँची बाहेक अरु कुनै बालीको खेती पनि छैन । आम्दानीको मुख्य स्रोत भनेकै अलैँची हो । बाबुबाजेले खोरिया फाँडेर बनाएको खेतबारी सबै अलैँची लगाएर जंगल बनाउनुभएको छ । अलैँची खेतीबाटै अब आफू, आफ्ना छोरा र नातिको जीवन चल्छ भन्ने उहाँको बुझाइ छ । अलैँची नै उहाँको जीवनको आशा र भरोसा पनि । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६३ वर्षीय किसान डिल्लीराम ढकालले अलैँची खेतीमा यस्तै सपना सजाउनुभएको छ । अलैँची खेती गरेर परिवार धान्न नसकिएला कि ? भन्ने त्रासले अन्नबालीसँगै अलैँची खेती गर्दै करिब चार दशक बिताउनुभएका उहाँले अहिले एक ओछ्यान जमीन समेत खाली राख्नुभएको छैन । अलैँचीबाटै उहाँको एक छोरा, बुहारी, नाति र श्रीमती रहेको परिवार चलेको छ ।

ढकालले आफूसँग भएको सबै ५० रोपनीभन्दा बढी जमीनमा अलैँची खेती लगाएको बताउनुभयो । ‘पहिले अलि डर लाग्यो, पछि अलैँचीबाटै कमाइ गरेँ र सम्भावना पनि देखेँ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले भएभरको सबै जमीनमा अलैँची खेती लगाएको हुँ ।’ उहाँले आफूसँग भएका ठूल्ठूला टाहार बारीमा समेत अलैँची लगाउनुभएको छ । अलैँची खेतीले उहाँको जीवनमा परिवर्तन आएको छ । चालीस सालतिरको कुरा सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला फल्न पनि धेरै फल्थेनँ । मूल्य साह्रै कम थियो ।’

उतिबेला अलैँची प्रतिमन ३००–४०० रुपैयाँले कारोबार हुने गरेको थियो । अन्यबाली भन्दा कम जनशक्ति लाग्ने, थोरै चिस्यान जमीन भए राम्रो उत्पादन हुने, धेरै मेहनत गर्नु नपर्नेलगायत कारणले त्यसबेलैदेखि क्रमशः अलैँची खेतीमा आकर्षित हुनुभएका ढकालले पहिलो पल्ट दश मन अलैँची फलाउँदा प्रतिमन २८ हजारका दरले मूल्य पाए । उहाँ त्यतिबेला निकै हौसिनु पनि भएको थियो । उहाँलाई त्यसपछि निरन्तर अलैँची खेतीबाट राम्रो आम्दानी मिल्यो ।

पाँच वर्षयता आफूले अलैँची मात्रैको व्यावसायिक खेती गरेर आम्दानी लिने बाटोमा लागेको उहाँले बताउनुभयो । ‘यही खेतीबाट जीवनमा थोरै आर्थिक प्रगति मिल्यो, गाउँमा काम गर्ने कामदार पनि पाउन छाडे, आफूलाई पनि बूढेसकालले छुँदैछ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले सजिलो र राम्रो सम्भावना समेत भएको बाटोको रुपमा अलैँचीलाई रोजेको हुँ ।’ केही वर्षयता अलैँचीमा देखिएका विभिन्न प्रकारका रोगको संक्रमणले हैरान बनाएको उहाँले बताउनुभयो । ‘आफूलाई प्राविधिक ज्ञान थिएन, थरीथरीका रोग कीरा देखा पर्न थाले,’ उहाँले भन्नुभयो ।

 

अलैँचीका समस्या समाधान गर्दै हतास नभई उहाँल निरन्तर यसै खेतीमा लागिरहनु भएको छ । पाँच वर्षदेखि उहाँको परिवार अलैँची खेती गरेरै चलेको छ । बगानको स्याहारसुसारका लागि उहाँ आफैँ खटिनुहुन्छ । उहाँका छोरा र बुहारी पनि अलैँची बगानकै स्याहारमा खटिन्छन् । थप स्याहारका लागि एक जना अस्थायी कामदार पनि राख्नुभएको छ उहाँले ।

उहाँले यो वर्ष अलैँचीबाट तीन लाख रुपैयाँमात्रै आम्दानी गर्नुभयो । तर उहाँ कत्ति पनि विचलित हुनुभएको छैन । फेरि पनि यस्तै हुन्छ भनेर भन्न नसकिने अनिश्चित बजार भएपनि बजार छिट्टै टुंगिने कुनै सम्भावना नदेखेको उहाँले बताउनुभयो । सबै खर्च कटाएर पनि डेढ लाख रुपैयाँ यही वर्षपनि आम्दानी गरेको उहाँले बताउनुभयो । त्यति रकम भए परिवार चलाउन कुनै सकस नहुने उहाँको भनाइ छ ।

अन्नबाली खेती गर्ने जमीनमा अहिले सबैले नगदेबालीको खेती थालेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘पहिले धान फलाउने प्रतिष्पर्धा हुन्थ्यो, अहिले अलैँची कसले धेरै फलाउने भन्ने प्रतिष्पर्धा छ ।’ गाउँमा टेलिभिजन र पत्रपत्रिकाको भन्दा बढी रेडियोको पहुँच छ । डिल्लीरामको घरमा दिनहुँ रेडियो बजिरहेको हुन्छ । उहाँ रेडियोबाट प्रशारण हुने कृषि सम्बन्धी कार्यक्रम सुन्न छुटाउनु हुन्नँ ।

‘सबैले अलैँचीको खेती थालेका छन्, अलैँचीमा सिंगो गाउँ लागेको छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले रेडियोमा बज्ने कार्यक्रम र सूचनापनि अलैँची केन्द्रीत हुन थालेका छन् ।’

‘खेती गर्दा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने रहेछ, मैले त आफ्नो सुरक्षाका लागि रेडियोबाटै सुनेपछि अहिले पन्जा, बुट, एप्रोन, चस्मा, हेल्मेट लगायत सामग्री बगानमा काम गर्ने सबैका लागि खरिद गरेर ल्याएको छु,’ उहाँले भन्नुभयो । अलैँची गुणस्तरीय नहुँदा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन समस्या हुने बताउनुहुने उहाँ अलैँचीको गुणस्तर कायम राख्न आफू र गाउँका धेरै किसान सक्षम भएको दाबी गर्नुहुन्छ ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १५:२०