प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रवासीको सहयोगमा बाढी प्रभावितलाई घर



रत्ननगर । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितलाई चितवन समाज जापानको सहयोगमा घर निर्माण गरिएको छ ।

जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले रु चार लाखभन्दा बढीको लगानीमा १० वटा घर निर्माण गरी प्रभावितलाई हस्तान्तरण गरेको हो । बाँकी अपुग कामका लागि भने उनीहरु आफैँले श्रमदान गरेका थिए ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा निर्माण भएको घर बुधबार प्रभावितलाई हस्तान्तरण गरिएको छ । पाँच महिना लगाएर घर निर्माण भएको थियो ।

विदेशमा पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गर्नु सराहनीय कार्य भएको स्थानीयवासीले बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रवासीबाट घर निर्माण भएकामा खुशी व्यक्त गर्दै महानगरको विकासमा अझै सक्रिय भएर लाग्न प्रवासी नेपालीलाई आग्रह गर्नुभयो ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत जापानबाट आएको सहयोगले यहाँ १० घर निर्माण भएको बताउनुभयो । अर्काे चरणमा अन्य ठाउँका प्रभावितलाई सहयोग गर्ने उहाँको भनाइ छ ।

यहाँका बाढी प्रभावित बुद्धिराज महतो, तारा महतो, सीताराम महतो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महतो, जीवन महतो र यमराज महतोको घर निर्माण भएको हो ।

गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नं १३, २३, २७ र २८ मा बढी क्षति पु¥याएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ११:३७