नेपाली युवा अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली युवा अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता



काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् ।

भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । भण्डारीले यो वर्षपनि एलआईसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् ।

 

उनलाई कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारी समेत दिएको छ । यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ । युवा अभिकर्ताको रुपमा परिचित भण्डारी केबल २८ वर्षका छन भने उनले नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् ।
बीमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् ।

कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए । ‘कम्पनीको कयौं शाखाहरु छन र सयौं बीमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,’ उनले भने  एक दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बीमा व्यवसायीहरुको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्य समेत रहेका छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताको लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढि प्रिमियम संकलन गर्नुपर्ने हुन्छ ।

नेपालमा थोरै मानिसहरुले मात्र हाल जीवन बीमा गरिरहेको हुँदा यसको संभावना अझै रहेको बताउँछन् । ‘हाल केबल १० प्रतिशत नेपालीले मात्र बीमा गरेको अनुमान छ यसलाई जनचेतनामुलक गतिबिधिले बढाउन सकिने हुँदा यसको संभावना अझै धेरै छ,’ भण्डारीले भने ।
आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यवसायीक गतिबिधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको श्री आनन्द उच्च मा.वि.का ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार १२:४२