पशुपतिमा विशेष सफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पशुपतिमा विशेष सफाइ



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ ।
विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपतिलाई उदाहरणीय देवस्थलका रुपमा स्थापित गर्ने अभियानमा कोष लागेको उहाँको भनाइ थियो । पशुपति पश्चिम ढोकाअघि शुरु भएको सफाइ मन्दिर क्षेत्र, सूर्यघाट, आर्यघाट, वाग्मती नदी किनार र वनकाली क्षेत्रमा आज सकिएको कोषका सुरक्षा अधिकृत गौरीशंकर पराजुलीले बताए । सफाइसँगै पशुपति परिसरमा रङ्गरोगनसमेत भइरहेको छ ।

यस वर्ष खेम्स क्लिनिङ, वाग्मती सफाइ महाअभियान र कोषको सहकार्यमा छ महिनादेखि पशुपति क्षेत्र सफाइ भइरहेको छ । सफाइसँगै ढुंगामा समेत पालिस लगाएर टल्काइएको कोषले जनाएको छ ।
सफाइमा कोषका कर्मचारी, नेपाली सेनाको कालीप्रसाद गण, नेपाल प्रहरीको पहरा गण, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गण, खेम्स क्लिनिङ, मानवसेवा आश्रमलगायत संस्थाको संस्थागत सहभागिता थियो । सफाइमा पशुपतिमा पूजा एवं दर्शनका लागि आएका भक्तजन पनि सहभागी थिए । विसं २०४४ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन स्थापित कोषले बुधबार ३२ वार्षिकोत्सव मनाउँदैछ ।

प्रकाशित : ४ बैशाख २०७५, मंगलवार १५:०१