तीन हजार तीन सय लघुउद्यमी तयार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तीन हजार तीन सय लघुउद्यमी तयार



तेह्रथुम । आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु¥याउने उद्देश्यले जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत तीन हजार ३४८ लघुउद्यमी तयार भएका छन् ।

लघु उद्यम विकास कार्यक्रम, गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जिल्लामा लघुउद्यमी तयार भएका हुन् ।

सो कार्यक्रमले उद्यमशीलता विकासबारे ज्ञान प्रदान गरी आयमूलक व्यवसायमा लाग्न प्रेरित गर्दै सीपमूलक तालीम दिएको छ । म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका युवा, महिला र निम्न वर्गका व्यक्तिलाई उद्यमी बनाइएको हो । विपन्न समुदायको आयआर्जन वृद्धि गरी गरीबी घटाउने र सामाजिक रुपमा पछि परेका समुदायलाई सशक्त बनाउने उद्देश्यले ती समुदायलाई उद्यम गर्ने बानीको विकास गराएको छ ।

सबैभन्दा बढी ढाका कपडा बुनाइ, सिलाइकटाइ, तरकारीखेती, दुग्ध प्रशोधन, कृषि औजार, मौरीपालन, बाँसका सामग्री निर्माण, बंगुरपालन, ब्यूटिपार्लर, कुखुरापालन, बाख्रापालनलगायत विषयमा उद्यमी बनेका लघु उद्यम विकास कार्यक्रमका बजार विकास विज्ञ प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत जिल्लामा दशवटा ग्रामीण बजारको प्रवद्र्धन भएको छ । कार्यक्रमबाटै १० वटा साझा सुविधा केन्द्र स्थापना, आठवटा लघु उद्यमी सहकारी प्रवद्र्धन र ३१६ वटा लघु उद्यमी समूह गठन भएका छन् ।

जिल्लामा सन् १९९८ बाट सञ्चालित सो कार्यक्रम यस वर्षबाट बहिर्गमन हुने भएको छ । जिल्लामा तयार भएका उद्यमी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरी कार्यक्रम जिल्लाबाट बहिर्गमनको तयारीमा रहेको बजार विकास विज्ञ खड्काले बताउनुभयो । सदरमुकाम म्याङलुङमा आयोजित लघुउद्यम विकास कार्यक्रमको बहिर्गमन गोष्ठीमा सहभागीलाई सहजीकरण गर्दै क्षेत्रीय सहयोग कार्यालय विराटनगरका प्रबन्धक प्रेमराज न्यौपानेले परियोजनाले पछिल्ला पाँच वर्षका लागि बनाएको राष्ट्रिय लक्ष्य अनुरुप जिल्लामा पनि सफल उद्यमी सिर्जना भई गरीबी निवारणमा सहयोग पुगेको बताउनुभयो ।

न्यौपानेका अनुसार जिल्लामा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ७२० जना, लघु उद्यम विकास कार्यक्रमअन्तर्गत दुई हजार ६१३ जना र तत्कालीन जिल्ला विकास समितिमार्फत १५ जना लघुउद्यमी तयार भएका हुन् ।

लघु उद्यम विकास कार्यक्रमले बनाएका उद्यमीमध्ये एक हजार ८१२ जना महिला रहेका छन् । हाल छ स्थानीय तह रहेको जिल्लाको म्याङलुङमा ३८४ जना, लालीगुराँस नगरपालिकामा ५१२, छथर गाउँपालिकामा ४३८, मेन्छ्यायेम गाउँपालिकामा २२१, फेदाप गाउँपालिकामा ३४८ र आठराई गाउँपालिकामा ७१० जना लघु उद्यमी तयार भएका कार्यक्रमको क्षेत्रीय प्रबन्धक न्यौपानेले बताउनुभयो ।

कार्यक्रमको सहजीकरणमा जिल्लामा हाल २६ वटा कृषिमा आधारित, वनमा आधारित तीनवटा, कलामा आधारित ३२ वटा, पर्यटनमा आधारित एउटा, सेवामा आधारित १२ वटा, ढाका बुनाइ व्यवसाय ८१३, तरकारीखेती ३७, दुग्ध प्रशोधन १६५, सिलाइकटाइ एक सय १९, बिस्कुट बनाउने चारवटा, कृषि औजार उद्योग ५६, दालमोठ उद्योग ४६ र बाँस फर्निचर उद्योग ६० वटा सञ्चालनमा रहेको खड्काले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत जिल्लामै सञ्चालन गर्न सकिने चाउचाउ, बेकरी उद्योग, मोबाइल मर्मत, कपाल काट्ने, बंगुरपालन, दुग्धजन्य, माछापालन, कुखुरापालन, सिलाइबुनाइ, ब्यूटिपार्लर, विद्युत् वाइरिङ, ग्रामीण टेलिसेन्टर, छालाजुत्ता मर्मत, स्टेशनरी, घडी मर्मत, एग्रो भेट र फोटो स्टुडियोसँग सम्बन्धित व्यवसायमा नयाँ उद्यमीको आवश्यकता देखिएको खड्काले बताउनुभयो ।

“दैनिक सयौँको संख्यामा युवा विदेशिने क्रम बढ्दो छ, यसलाई रोक्न यी व्यवसाय गर्नु आवश्यक छ्,” उहाँले भन्नुभयो । युवा पुस्ताको व्यवसायमा आकर्षण नरहेपनि उल्लेख्य आर्थिक आम्दानीको सम्भावना देखिएको उहाँको भनाइ छ ।

कार्यक्रमले पछिल्ला पाँच वर्षका लागि देशभरबाट ७३ हजार लघुउद्यमी तयार गर्ने लक्ष्य लिएको छ । सो लक्ष्यको निकटतम विन्दुमा कार्यक्रमले उपलब्धि हासिल गरेको छ । कार्यक्रमले रोजगारीको समस्या समाधान गर्ने, गरीबी न्यूनीकरण गर्ने, विकासको प्रतिफल सबै तह र तप्कामा पु¥याउने, परनिर्भरता कम गर्ने, मध्यम आय भएको राष्ट्रमा रुपमान्तरण गर्ने, दिगो विकास लक्ष्य हासिल गर्ने तथा समृद्ध समाज निर्माण गर्नेलगायत महत्वाकांक्षी लक्ष्य लिएको छ ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार १२:४८