आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु



गाईघाट। उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ ।

वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, षटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य र रक्तपोक्षण सेवा शुरु गरिएको हो ।

डा यादव भन्नुहुन्छ, “अहिले एलोप्याथिक उपचारले होमियोप्याथिक र आयुर्वेदिक उपचार छायामा परेको भए तापनि यसलाई अझ प्रभावकारी बनाउन हामीहरुले थप प्राकृतिक उपचार विधि शुरु गरेका हौँ ।”

यो विधि प्राकृतिक उपचार पद्धति र योगामा आधारित विधि भएका कारण यसले आयुर्वेदिक उपचार सेवालाई अझ प्रभावकारी बनाएर जीवन्त बनाउन सहयोग हुने डा यादवको धारणा छ ।

सरकारले विगतदेखि शुरु गर्दै आएको आयुर्वेदिक उपचार विधि र आयुर्वेदिक अस्पताललाई प्रभावकारी बनाउन आफूहरुले यो उपचार विधि शुरु गरेको सगरमाथा आयुर्वेदिक अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी बताए ।

सगरमाथा आयुर्वेदिक अस्पतालले यो सेवा सञ्चालन गर्न शुरु गरेको र यसका लागि भौतिक व्यवस्थापन पक्षका लागि पनि पूर्ण तयारी गरिएको प्रमुख चौधरीले बताए ।

सो आयुर्वेदिक औषधालय अस्पताल जिल्लाकै पुरानो आयुर्वेदिक अस्पताल हो ।

अन्य आधुनिक एलोप्याथिक अस्पताल र क्लिनिकका कारण यो अस्पताल तथा औषधालय छायामा पर्दै आइरहेका बेला अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले उपचार पद्धतिमा नयाँ प्रविधिको शुरुवात गरेको हो ।

प्रकाशित : ६ बैशाख २०७५, बिहीबार १२:४६