श्रम आयोग निर्माणका लागि कटिबद्ध भएर लाग्नेछु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

श्रम आयोग निर्माणका लागि कटिबद्ध भएर लाग्नेछु



          पुस्कर आचार्य
अध्यक्ष पदका उम्मेदवार, नेपाल ट्रेड युनियन काँग्रेस

मजदूर आन्दोलनको उद्गम स्थल विराटनगरमा जन्मेर नेपालको ट्रेड युनियन आन्दोलनमा मजदूरको हक र अधिकारका लागि लड्दै आएका मजदुर नेता हुन पुष्कर आचार्य ।

विस २०४७ मा पार्टीको जिल्ला सदस्य हुँदै ट्रेड युनियन काँग्रेस मोरङको जिल्ला अध्यक्ष, २०४९ मा ट्रेड युनियन काँग्रेसको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य, २०५४ को दोस्रो महाधिवेशनमा महासचिव, तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष हुँदै नेपाल ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउँदै आएका श्रमिक नेता एवं पूर्व सांसद आचार्य ट्रेड युनियनको २९ जेठ बाट सुरु छैँठौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार हुन । उनीसँग समग्र मजदुर आन्दोलन र उम्मेदवारी बारे गरिएको कुराकानी ः

तपाईँको उम्मेदवारी के का लागि ?
नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरहरुलाई आर्थिक रुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि मेरो उम्मेदवारी हो ।

मजदूर आन्दोलनलाई अगाडि बढाउनेबारे के सोच्दै हुनुहुन्छ उम्मेदवार बन्दै गर्दा ?

मजदूर भनेका राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति हो । मजदूर विना मुलुकको विकास सम्भव छैन । मजदूरले काम नगरी मालिक वा जनताहरु बसेर आफ्नो आधारभूत आवश्यकताहरु पुरा गर्न सक्दैनन । त्यसैले मजदूरलाई खुशी पार्नु राज्यको दायित्व हो । मजदूरलाई खुशी बनाउँदै मजदूरको आधारभूत आवश्यकता पुरा गर्ने दिशामा मेरो ध्यान केन्द्रीत हुनेछ ।

तपाईँ निवर्तमान सांसद पनि हुनुहुन्छ ? संसदमा गएर मजदूरको पक्षमा के कस्ता कामहरु गर्नुभयो ?

पक्कै पनि म मजदूरको प्रतिनिधित्व गर्दै विस २०७० सालमा संसदमा प्रवेश गरेको हुँ । मेरो कार्यकालको महत्वपूर्ण पक्ष भनेको संविधान निर्माण हो । संविधानमा मजदूरको हक अधिकार समेट्नका लागि मैले भूमिका खेँले ।
राजनीतिक दलले मजदूरको आवाज कम सुन्ने गरेकोमा राजनीतिक दललाई मजदूरको समस्या समाधान गर्न ध्यानकेन्द्रीत गरेर सामाजिक सुरक्षा अधिकार, स्वास्थ्य उपचारलगायतका कुरालाई समेट्न महत्वपूर्ण भूमिका खेलेको छु । सामाजिक सुरक्षा विद्येयकलाई स्थापित गर्न पनि मैले महत्वपूर्ण भूमिका खेलेको हुँ ।

सांसद भएर श्रम आयोग निर्माण गर्न त सक्नुभएन नी ?

म सांसद हुनुको एउटा महत्वपूर्ण लक्ष्य भनेको श्रम आयोगको मुद्धा उठाउनु पनि हो । श्रम आयोग निर्माणका लागि मैले संसदका हरेक बैठकमा आवाज उठाएको हो । मैले श्रम आयोग निर्माणका लागि संसदमा प्रस्ताव समेत लगेको थिएँ । तर मेरो कुरालाई त्यहाँ सुनुवाई भएन । म नेपाल ट्रेड युनियनको अध्यक्ष भएँ भने श्रम आयोग निर्माणका लागि कटिबद्ध भएर लाग्नेछु ।

तपाईँलाई किन भोट दिने आधार के त ?

मलाई भोट दिने आधार भनेको जहाँ श्रमिक त्यहाँ नेपाल ट्रेड युनियनको नारालाई पुरा गर्नु हो । नेपाली काँग्रेसको केन्द्रदेखि गाउँसम्मको संरचनामा ट्रेड युनियनको प्रतिनिधित्व गर्ने, राष्ट्रिय श्रमिक आयोगका लागि सरकारलाई दवाव दिने, हरेक प्रदेशमा श्रमिक अस्पताल निर्माण गर्न सरकारलाई दवाव दिने, सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयनमा ल्याउने, ट्रेड युनियनमा ३३ प्रतिशत महिला सहभागीता स्थापना गर्न, प्रदेश स्थानीय र औधोगिक स्तरमा सामुहिक सौदावाजीको अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने, कार्यस्थलमा हुने सबै खाले विवेदको अन्त्य गर्नेछु ।
यसका अतिरिक्त कार्यस्थलबाट श्रमिकको मताधिकार सुनिश्चित गर्ने, महासंघलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने, ट्रेड युनियन काँग्रेससँग आवद्ध रहँदै आएका आइटीयुसीलगायतका संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा सुढृढ बनाउनेछु । म मेरो एजेण्डामा प्रतिबद्ध छु र रहनेछु ।

अन्तमा के भन्नुहुन्छ ?

नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरहरुलाई आर्थिक रुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि मेरो उम्मेद्वारी भएकाले मलाई सहयोग गर्न देशभरबाट काठमाडौँमा आएका मजदूर साथीहरुलाई आग्रह गर्दछु । यहाँहरुको मत श्रमिकको पक्षमा होस भन्ने मेरो आग्रह छ । यहाँहरुको मतको अपेक्षा सहित आएको छु ।

प्रकाशित : ३१ जेष्ठ २०७५, बिहीबार १२:३७