नेपाल नेदरल्यान्डससँग ५५ रनले पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपाल नेदरल्यान्डससँग ५५ रनले पराजित



काठमाडौं । नेपालले एक एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू खेल ५५ रनले गुमाएको छ ।

घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले सुरुवात राम्रो गरे पनि त्यसलाई अघि बढाउन भने सकेन ।

उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक र दीपेन्द्र सिंह ऐरी ३३, अर्का ओपनर अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले निराश पारेपछि नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रनमात्र जोड्न सक्यो ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र र अनिलले ५८ रनको साझेदारी गरेपनि त्यसपछि भने नेपालको ठूलो साझेदारी बन्न सकेन ।

बलिङमा उच्च प्रदर्शन गरेका कप्तान पारस खड्का १२ रनमा आउट भएपछि नेपालको ब्याटिङ लाइन धर्मराएको थियो ।

पारस १९ औं र त्यसलगत्तै ज्ञानेन्द्र २० ओभरमा आउट भएपछि त्यसपछि नेपाल सम्हालिन सकेन ।

६१ बल खेलेका ज्ञानेन्द्रले ८ चौकाका साथ ५१ रन बनाए । अनिलले ३२ बल खेल्दै ३ चौका प्रहार गरे ।

२१ बल खेलेका पारसले १ चौका तथा ४८ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरे । त्यसपछि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शक्ति गौचनले ९, शरद भेषावकरले ४ र सन्दीप लामिछानेले १ रन बनाए ।

आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले रनको खाता पनि खोल्न सकेनन् ।

फिल्डिङ गर्ने क्रममा औलामा चोट लागेपछि शरद १० औं नम्बरमा मात्र ब्याटिङ गर्न ओर्लेका थिए ।

त्यसअघि भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७.४ ओभरमा सबै विकेछ गुमाएर १ सय ८९ रन बनाएको थियो ।

नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले, बास डि लिडेले ३० रन जोडे ।

स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवाड्र्स १८ रनमा आउट भए ।

यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए । नेपालका लागि पारसले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए ।

सोमपालले ३ विकेट, सन्दीप लामिछाने, बसन्त र करणले समान १ विकेट लिए । नेपाल र नेदरल्यान्ड्बीचको दोस्रो एक दिवसीय शुक्रबार हुनेछ ।

प्रकाशित : १६ श्रावण २०७५, बुधबार २२:३२