एप्पलको बजार मूल्य १ खर्ब डलर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

एप्पलको बजार मूल्य १ खर्ब डलर



प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ।

बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन।

यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी मानिएको थियो। तर उक्त कम्पनीले आफ्नो २ प्रतिशत सेयर सार्वजनिक बिक्री गरेकाले यो मूल्य विश्वसनीय मानिँदैन। छोटो समयमै यसको बजार भाउ घटेको थियो।

त्यस्तै, साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी अराम्कोको मूल्य २० खर्ब डलर हुनसक्ने अनुमान छ। हालसम्म यसले सार्वजनिक सेयर जारी गरिसकेको छैन।

सार्वजनिक सेयर खरिद–बिक्रीबाट १० खर्ब डलर मूल्य छुने एप्पल नै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

स्टिभ जब्सले कम्प्युटर बनाउन आफ्ना इञ्जिनियर साथी स्टिभ वुजनेकसँग मिलेर सन् १९७६ मा यो कम्पनी स्थापना गरेका थिए। केही वर्षपछि जब्स आफैं निकालिए। त्यसपछि कम्पनी टाट उल्टिने संघारमा पुगेको थियो। त्यो बेला यसको प्रतिसेयर मूल्य एक डलरमा झरेको थियो। अहिले २०७ डलर नाघेको छ। यो कम्पनीले यति ठूलो आकार लिनुलाई अभूतपूर्व छलाङका रुपमा लिइएको छ।

सन् १९९६ मा जब्सको फिर्तीपछि एप्पल नाफामा जान थालेको हो। त्यो वर्ष यसको बजार मूल्य ३ अर्ब डलर थियो। जब्सले कम्पनी विस्तार गर्दै ल्यापटप र कम्प्युटरसहित मोबाइल, आइप्याड, आइपड, टिभी, घडी लगायत उत्पादन गर्न थाले जुन अहिले पनि जारी छ।

गत वर्ष मात्र एप्पलले २८ करोड वटा आइफोन, आइप्याड र म्याक बिक्री गर्यो। यसैले कम्पनीलाई १० खर्ब डलरको उचाइमा पुर्याएको हो।

यो पनि पढ्नुहोस्ः एप्पलमा सामान होइन, स्टिभ जब्सको ‘सपना’ उत्पादन हुन्छ
दस खर्ब डलर भनेको यति ठूलो मूल्य हो, अमेरिकाका चार ठूला बैंक– बैंक अफ अमेरिका, जेपी मोर्गन, वेल्स फार्गो र सिटी ग्रुपको बजार मूल्य जोड्दा पनि एप्पलभन्दा कमै हुन्छ।

सबै प्रमुख अटोमोबाइल कम्पनी जोड्दा पनि एप्पल बराबर पुग्दैन। यसमा टोयोटा, बिएमडब्लु, होन्डा, फक्सवागन, फोर्ड, जनरल मोटर्स, टेस्ला, ड्याम्लर, ह्युन्डाइ, किया, मित्सुबिसी, निसान, फरारी लगायत अधिकांश नाम चलेका कम्पनी पर्छन्।

हवाइ उड्ययन क्षेत्रसँग तुलना गर्ने हो भने संसारका ठूला एयरलाइन्स तथा हवाइ कम्पनीको मूल्य जोड्दा बल्ल एप्पलको नजिक–नजिक पुग्छ।

सैन्य सामग्री आपूर्ति गर्ने संसारकै ठूलो कम्पनी लकहिड मार्टिनले गत वर्ष झण्डै तीन सयवटा हेलिकप्टर, लडाकु विमानलगायत हवाइ सामग्री आपूर्ति गरेको थियो। यसको मूल्य ९३ अर्ब डलर मात्र हो। संसारकै ठूलो हवाइ कम्पनी बोइङको मूल्य पनि जम्मा २९५ अर्ब डलर छ।

अमेरिकाकै मिडिया कम्पनीको कुरा गर्ने हो भने, एटिएन्डटि, वाल्ट डिज्ने, कमकास्ट, ट्वान्टी फस्ट सेन्चुरी फक्स, नेटफ्ल्क्सिलगायत सबै प्रमुख प्रकाशन तथा टेलिभिजन च्यानलहरूको मूल्य जोड्दा १० खर्ब डलर पुग्दैन।

आजको बजारमा एप्पललाई टक्कर दिने हैसियत भएका तीनवटा मात्र कम्पनी छन्ः गुगल, माइक्रोसफ्ट र अमेजन।

यी तीनै प्रविधि क्षेत्रका हुन् र सबैको कारोबार मूल्य जोड्दा २५ खर्ब डलरभन्दा बढी हुन्छ। यिनको मूल्य वृद्धि रफ्तार उच्च छ। यसमा पनि अमेजन चाँडै नै १० खर्ब डलर पुग्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

बेलायती अखबार द गार्डियनका अनुसार एप्पलको यो बजार मूल्य टर्की र स्वीटजरल्यान्डको समग्र अर्थतन्त्र बराबर हो। त्यस्तै संयुक्त अधिराज्य (युके) को समग्र अर्थतन्त्रको एक तिहाइ हो।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार २०:४९