बिओके र लुम्बिनीबीच मर्जरमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिओके र लुम्बिनीबीच मर्जरमा जाने



काठमाडौं  । बैंक अफ काठमाण्डू(बिओके) र लुम्बिनी बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । विहीवार दुवै बैंकले मर्जरमा जानको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा बिओकेका अध्यक्ष सत्य नारायण मानन्धर र सञ्चालक प्रा डा हेमराज सुवेदी तथा लुम्बिनी बैंकको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठ तथा सञ्चालक सुवर्णलाल श्रेष्ठले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम बैंक अफ काठमाण्डू लुम्बिनी रहने जारी विज्ञप्तीमा जनाइएको छ ।

मर्जरपछिको सेयर स्वाप अनुपात बिओकेको एक कित्ता बराबर लुम्बिनीको ०.८२ प्रतिशत हुन्छ । एककित्ता साधारण सेयरको मुल्यांक एक सय रुपैयाँ हुने हुँदा मर्जरपछि बैंकका सेयरधनीले बिओकेको एक सय रुपैयाँ र लुम्बिनीको ८२ रुपैयाँ हुने छ ।

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले चालु आर्थिक वर्षको अन्त्यसम्ममा मर्जर प्रक्रिया पुरा हुने बताए । ‘ मर्जरको लागि सबैभन्दा जटिल मानिएको सेयर स्वाप अनुपात सम्झैता अगाडि टुङ्गेको छ’,उनले भने ।

राष्ट्रबैंकले दुईवर्ष्भित्रमा वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब बनाउनुपर्ने नीति लिएपछि वाणिज्य बैंक र वाणिज्य बैंक मर्जरमा जाने सम्झैता भएको दोस्रो पटक हो ।

यसभन्दा अगाडि माछापुच्छ्रे र जनता बैंकले पनि मर्जरमा जाने सम्झौता गरेका छन् । एकवर्षदेखि प्रभु बैंकले ग्राण्ड लिने प्रक्रिया चलिरहेको छ ।

अहिले बिओकेको चुक्ता पुँजी दुई अर्ब २२ करोड छ । प्रस्ताव गरिएको बोनस सेयर स्विकृति पछि बैंकको चुक्ता पुँजी दुई अर्ब ६७ करोड हुने छ । लुम्बिनी बैंकको चुक्ता पुँजी दुई अर्ब रहेको छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ३० करोड हुने छ । बिओकेको अहिले शाखा ५१ शाखा सञ्चालनमा रहेको छ । यस्तै लुम्बिनी बैंकको १८ वटा शाखा रहेको छ । बिओको ५७ वटा एटिएम छ भने लुम्बिनीको पाँचवटा एटिएम रहेको छ ।

असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बिओकेको निक्षेप ४० अर्ब छ भने कर्जा लगानी ३४ अर्ब रहेको छ । लुम्बिनी बैंकको निक्षेप २० अर्ब रुपैयाँ रहेको छ । कर्जा लगानी १७ अर्ब रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तमा बिओकेले १६ करोड रुपैयाँ नाफा कमाएको थियो भने लुम्बिनीले भने आठ करोड नाफा कमाएको थियो । मर्जरबाट दुबै बैंकले आप्mनो पूँजी योजना अनुरुप न्युनतम चुक्तापूँजी पुर्‍याउन सहज हुने उद्देश्य लिएका छन् ।

साथै,यसबाट बैंकको आकारमा उल्लेख्य बृद्धिहुने, उत्पादकत्व बढने,जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि हुने तथा देशको वित्तिय पहुंचमा सकारात्मक योगदान पुर्‍याउने आदी जस्ता लक्ष्य पनि लिइएको छ ।

दुवै बैंक मर्जरमा जाने विषयमा पछिल्लो एकसातादेखि भएको हल्ला थियो । विहीवार नेप्सेमा बढी सेयर कारोवार हुनेमा बिओके दोस्रो नम्बरमा रहेको छ ।

आइतवारदेखि मर्जर प्रक्रिया पुरा नहुँदासम्म बिओके र लुम्बिनीको सेयर कारोवार हुँदैन । विहीवार नेप्सेमा बिओकेको तीन करोड १३ लाख रुपैयाँको सेयर कारोवार भएको छ । लुम्बिनीको दुई करोड ६२ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

कारोवार बन्द हुनु अगाडि बिओकेको सेयर मुल्य प्रतिकित्ता ६ रुपैयाँले प्रतिकित्ता पाँच सय ८५ मा पुगेको छ । यस्तै लुम्बिनीको दुई रुपैयाँले बढेर प्रतिकित्ता चार सय एक रुपैयाँमा पुगेको छ ।

प्रकाशित : १० पुष २०७२, शुक्रबार ०७:२०