व्यवसायी र बैंकर्सलाई गभर्नरको चेतावनी दोहोरो कुरा नगर्नुस लौरो चलाउन नपरोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

व्यवसायी र बैंकर्सलाई गभर्नरको चेतावनी दोहोरो कुरा नगर्नुस लौरो चलाउन नपरोस्



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई चेतावनी दिएका छन् । बैंकर्स एशोसियसन र नेपाल अार्थिक पत्रकार समाज ( सेजन)ले विहिबार राजधानीमा गरेको अन्तरक्रियामा गर्भनर नेपालले समय अनुकुलको फाइदा हेरेर व्यवसायी र बैंकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले नलगेको उनले बताए। ‘अब अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गरिरहेका छन्,’ उनले भने। गर्भनर नेपालले वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राप्ट्को प्रतिशत घटाइएको भएपनि व्यवसायिक ओभर ड्राफ्टमा भने कमि नआएको स्पष्ट पारे । व्यवसायिक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन– कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भइरहेको बताए । उनले ऋणको ब्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए ।

उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैंकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तिय क्षेत्रको ध्यानाकर्षण समेत गराएका थिए । निर्देशनअनुसार आफुहलाई अघि बढाउन सचेत गराउदै उनले भने– ‘राष्ट्र बैंक कठोर रुपमा आउनुनपरोस् ।

अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिसजस्तो गर्नुपर्यो भने के हुन्छ ?’’जनशक्ति राम्रो भएको बैंकिङ क्षेत्रलाई पुलिसले जस्तो लौरो लिएर कठोर कदम चाल्नु नपरोस्,’ उनले भने, ‘पुलिसले त्यसलाई लौरो उठाउँछ जो चोर फटाहा हुन्छ।’ उनले आफ्नो दक्षता र क्षमताअनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराएका थिए ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १५:२५