आजबाट नयाँ कानून लागू ,यस्ता छन् नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

आजबाट नयाँ कानून लागू ,यस्ता छन् नयाँ व्यवस्था



काठमाडौंं । एक सय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै शुक्रबारदेखि नयाँ कानुन लागू भएको छ । संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागू हुन लागेको हो ।

यसका साथै दुवै संहिताका अरू दुई कार्यविधि कानुन, ‘फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन’ ‘केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन’ पनि लागू हुनेछन् ।

नयाँ कानुन लागू भएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, कोर्ट फी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, करार ऐनलगायत १५ वटा पुराना कानुन खारेजीमा परेका छन् । ‘मुलुक कानुनको नयाँ युगमा प्रवेश गरेको छ,’ अपराध संहिताका मस्यौदाकार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘हामीले ६६ वर्षको अन्तरालमा संविधान ७ पटक फेरिसक्यौं तर कानुनचाहिँ जंगबहादुरको पालामा १९१० सालमा बनेको मुलुकी ऐनले काम चलाइरह्यौं । अब त्यो दिनको अन्त्य भएको छ, आजको युग सुहाउँदो कानुनी व्यवस्थामा नेपाल प्रवेश गरेको छ ।’

के गर्छ नयाँ कानुनले ?
– अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले अंगीकार गरेका मानव अधिकारका सिद्धान्तलाई व्यवहारमा उतार्ने गरी प्रावधानहरूको विकास
– यातना दिने, बेपत्ता पार्ने, गोपनीयता उल्लंघन गर्ने काम आदि दण्डनीय
– प्रहरी, सेना वा अन्य अधिकारीबाट हिरासतमा लिई कुटपिट गर्नेरगराउनेलाई ५ वर्ष वा ५० हजार जरिवाना वा दुवै सजाय
– व्यक्ति बेपत्ता पार्ने काममा संलग्नलाई १५ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना
– बोक्सी आरोपमा कुटपिट गर्ने, सामाजिक बहिष्कार गर्ने, रजस्वला भएका बखत छाउपडीमा पठाउनेलाई ३ महिना कैद
– सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नेलाई ६ महिनासम्म कैद
– कुनै राष्ट्रसेवकलाई झूटा जानकारी दिएर कर्तव्यबाट विमुख गराउनेलाई एक वर्षसम्म कैद
– बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद
– जुवा खेल्नेरखेलाउनेलाई तीन महिनासम्म कैद
– कसैले गाई वा गोरु मारे तीन वर्षसम्म कैद
– खुला रूपमा खसी, कुखुरा काट्नेलाई एक महिना कैद
– बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैद
– ३ वर्षदेखि १० वर्षसम्म सजाय हुने कसुरलाई गम्भीर र १० देखि जन्मकैदसम्मको सजाय हुने जघन्य कसुर, जन्मकैद २५ वर्ष
– कुनै नेपाली नागरिकले नेपालबाहिर अर्को नेपालीको ज्यान लिएको वा लिने षड्यन्त्र गरेको वा अंगभंग गरेको, परित्याग गरेको वा जबर्जस्ती करणी गरेको वा अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा पनि कारबाही
– राज्यविरुद्धका कसुर, राजद्रोहको कसुर, जाति हत्याविरुद्धको कसुर, सार्वजनिक न्यायविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर तथा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर

अपराध संहिता
– सार्वजनिक आवागमनमा बाधा पुर्‍याए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै
– नभएनगरेको अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने
– झूटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने
– खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने
– कमसल वस्तुलाई असल भनी बेचे ३ वर्षसम्म कैद हुन सक्ने
– सार्वजनिक ठाउँमा अरूलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने
– सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै
– राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने
– बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरेसरह सजाय

देवानी संहिता
– मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशनप्रसारण गर्न नपाइने
– केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने
– कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतस् विवाह भएको मानिने
– सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने
– मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने
– प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने
– गर्भको शिशु पनि अंशको हकदार हुने
– कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने
– कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने

कान्तिपुर दैनिकबाट साभार

प्रकाशित : १ भाद्र २०७५, शुक्रबार ०८:२२