पोर्न उद्योगबारे यसो भन्छिन् सनी लियोनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोर्न उद्योगबारे यसो भन्छिन् सनी लियोनी



गत पाँच वर्षमा भारतमा गुगलबाट सर्वाधिक खोजिएको नाम हो – सनी लिओनी।

पोर्न चलचित्रमा अभिनय गर्ने यी कलाकारबारे जान्ने र उनलाई हेर्ने रुचि मानिसहरूमा देखिन्छ। तर धेरैले पहिला नै उनीबारे आफ्नो धारणा बनाइसकेका हुन्छन्।

आफूबारे त्यस किसिमको धारणा आफ्नै कारणले बनेको उनलाई थाहा छ।

“म मेरो विचार र जीवनबारे पारदर्शी छु। तर मानिसहरू मलाई मेरो पुरानो पेसासँग जोडेर हेर्छन्। यसमा उनीहरूको कुनै गल्ती छैन। तर समयसँगै म पनि परिवर्तन भएकी छु र मानिसहरूले पनि ममा आएको यो परिवर्तनलाई बुझ्लान् भन्ने आशा छ।”

सनीले पहिला बलिउडमा “आइटम नम्बर” भनिने गीतहरूमा काम गरेकी थिइन्। पछि उनले चलचित्रमा अभिनय पनि गरिन्।

भरखरै उनले उत्पादन गरेको अत्तर “द लस्ट” पनि बजारमा आएको छ।

विवाद
सनी लिओनीको वास्तविक नाम करनजीत कौर हो।

उनको जीवनमा आधारित भएर निर्माण गरिएको वेब शृङ्खलामा त्यो नाम प्रयोग भएको भन्दै सिखहरूको शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले विरोध गरेको थियो।

सिख धर्ममा ‘कौर’ उपनामको विशेष महत्त्व छ। तर पोर्न चलचित्रसँग जोडिएकी सनीले त्यो नाम प्रयोग गर्दा विवाद उत्पन्न भयो।

तस्वीर कपीराइटT SERIES
यसबारे सोध्दा आफ्नो नाम राहदानीमै भएको बताइन्। उनका अनुसार आमाबाबुले नै उनको नाम करनजीत कौर राखिदिएका हुन्।

तर उनीहरू दिवङ्गत भइसके र उनको दाबी पुष्टि गर्न सकिने स्थिति छैन।

उनले भनिन्, “मेरो वास्तविक नाम करनजीत कौर हो र मेरो कामको नाम मात्र सनी लियोनी हो।”

पोर्न चलचित्रमा काम गरेकोमा सनी लियोनीलाई लज्जा वा हीनताबोध छैन।

पोर्नको बजार
भारतमा व्यक्तिगत रूपमा पोर्न हेर्नमा कुनै प्रतिबन्ध छैन। तर त्यहाँ पोर्न सामग्रीको निर्माण र वितरण गैरकानुनी छ।

संसारको सबैभन्दा ठूलो पोर्न वेब्साइट ‘पोर्नहब’का अनुसार अमेरिका, ब्रिटेन र क्यानडापछि भारतमा सबैभन्दा धेरै पोर्न हेर्ने गरिन्छ।

के भारतमा पनि पोर्न उद्योगलाई वैधानिक मान्यता दिनुपर्छ? त्यसको निर्णय आफूले नभएर भारत सरकार र नागरिकहरूले गर्नुपर्ने उनको धारणा छ।

अनि के पोर्न उद्योगले यौनबारे सहजता र उदारता ल्याउला?

उत्तरमा उनी आफूलाई मन परेको कुरा मान्न अरूलाई बाध्य नपार्ने बताउँछिन्। परिवारबाट समाजमा विचार जाने र प्रत्येक महिलाको विचार उनका आमाबाबुबाट बन्ने उनको धारणा छ।

तर आमाबाबुले उनको निर्णय भने स्वीकार्न सकेका थिएनन्।

तस्वीर कपीराइटTWITTER
उनी उदार विचारधारा राख्दै हुर्किइन्। उनका अनुसार उनी आमाबुबालाई सम्मान गर्ने तर आफ्नो निर्णय आफैँ लिन्छिन्।

अब उनका आफ्नै बालबच्चा छन्। उनले एउटी धर्मपुत्री पालेकी छन् भने सरोगेसीमार्फत् दुई छोरा पनि जन्माएकी छिन्।

सन्तानलाई बताउलिन्?

के सन्तानलाई उनी आफ्नो जीवनमा निर्णय लिने स्वतन्त्रा दिन सक्लिन्?

उनले भनिन्, “म नि:सन्देह उनीहरू माथि पुगून्, मङ्गल ग्रहसम्मै पुगून् भन्ने चाहन्छु। तर निर्णय र बाटो उनीहरूकै हुनेछ।”

अन्तिम प्रश्न सम्भवत: उनका लागि कठिन थियो।

सनी लिओनीलाई सोधिएको भए पनि उत्तर भने करनजीत कौरले दिनुपर्ने प्रश्न।

के उनी आफ्नो पुरानो पेसाको कुरा आफ्ना बच्चालाई बुझाउन सक्लिन्?

उनलाई त्यति सहज अनुभव त भएन। तर यो प्रश्न उनको मनमा नआएको पनि होइन।

उनले आफ्नो जीवनमा लिएका निर्णयका कारण सिर्जित मानिसहरूको धारणासँग बाँच्न सजिलो पनि छैन।

तर साहसपूर्वक उनले त्यो अहिले आफ्नो सरोकार नभएको बताइन्।

उनका अनुसार उनलाई आमा बन्ने रहर थियो र अहिले उनी त्यसैमा रमाइरहेकी छन्।

तर उपयुक्त समयमा छोराछोरीलाई वास्तविक कुरो बताउन उनको योजना छ।

(यो सामग्री बीबीसी हिन्दीकी दिव्या आर्यले गरेको कुराकानीको आधारमा तयार पारिएको हो।) साभार बीबीसी नेपाली सेवा

प्रकाशित : ७ भाद्र २०७५, बिहीबार २१:०७