नेपाल बैंकले सेयर धितोमा ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बैंकले सेयर धितोमा ऋण दिने



काठमाडौं । सेयर धितोमा ऋण दिने लहर बैंकहरूबीच चलिरहँदा नेपाल बैंकले ऋण दिने भएको छ । नेप्सेमा सूचीकृत वित्तीय रुपमा सबल कम्पनीहरु धितो राखेर कर्जा प्रदान गर्र्ने भएको छ ।

नेप्सेले क वर्गमा समावेश गरेका प्रायः सबै कम्पनीको धितो राखेर कर्जा उपलब्ध गराइने नेपाल बैंकको भनाई छ । मुलुककै सबैभन्दा पुरानो नेपाल बैंकले सेयर धितो राखेर कर्जा प्रवाह गरेपछि पुँजी बजारमा तरलता बढ्ने लख काट्न थालेका छन् ।

कर्जा लिन आवेदन दिएको ३ कार्य दिनभित्रै निर्णय गरिने बैंकको भनाई छ । त्यसो त नेपाल बैंकले यसअघि पनि सेयर धितो कर्जा दिने गरेको थियो । बैंकका अनुसार ‘क’ वर्गका कम्पनीको सेयर धितोमा कर्जा दिने रकम र समयावधि हेरेर फरक–फरक ब्याजदर निर्धारण गरिएको छ । धेरै रकम लिनेलाई १०.१३ र थोरै रकम लिनेलाई १२.१३ प्रतिशत सम्म ब्याज लिने बैंकले जनाएको छ । यो स्किमका लागि बैंकले ३ अर्ब ७० करोड रुपैयाँ छुट्याएको छ ।

हाल नेपाल बैंकले २६ वटा वाणिज्य बैंक, ३ वटा जलविद्युत कम्पनी, सोल्टी होटल, नेपाल टेलिकमसहित ‘क’ वर्गका अन्य कम्पनीहरुलाई सेयर धितो राखेर कर्जा दिने जनाएको छ । कर्जाका लागि नेपाल बैंकमा निवेदन परेको ३ कार्यदिनमा कर्जा पाउने वा नपाने निर्णय दिने गरेको नेपाल बैंकका एक अधिकारीले बताएका छन् ।

यसअघि अर्को सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि सेयर धितो कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था गरिसकेको र आगामी पुसदेखि मात्र सेयर धितो कर्जा उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १२:१४