हाजिर गरेर टाप कस्ने कर्मचारीमाथि अंकुश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हाजिर गरेर टाप कस्ने कर्मचारीमाथि अंकुश



काठमाडाै । नेपाल विद्युत प्राधिकरणले हाजिर गरेर टाप कस्ने कर्मचारीमाथि अंकुश लगाउने भएको छ । प्राधिकरणले आएको र गएको समय स्पष्ट हुने गरी दिनको २ पटक हाजिर गर्नुपर्ने नियम कडाइका साथ लागु गर्न लागेकाले एक पटक हाजिर गरेर भाग्ने कर्मचारीमाथि अंकुश लाग्ने भएको हो । आगामी असोज ७ गते आइतबारबाट यो नियम सबै कर्मचारीमा कडाइका साथ लागु गरिने भएकाे छ ।

कार्यालय आएका कर्मचारी एक पटक हाजिर गरेर अन्यत्र लाग्नेक्रम बढेपछि कडाई गरिने भएको हो । यो नियम लागु भएपछि प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनमाथि अंकुश लाग्ने भएको छ । प्राधिकरण व्यवस्थापनले क्रियाशील ट्रेड युनियनका पदाधिकारीले दिनको एक पटकमात्रै हाजिर गरे हुने व्यवस्था खारेज गरेपछि उनीहरुमाथि अंकुश लाग्ने भएको हो । प्राधिकरणमा अहिले कर्मचारी संघ आधिकारिक ट्रेड युनियन छ । कर्मचारी युनियन , नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) र कर्मचारी कल्याण परिषद क्रियाशील छन् ।

४ वटै ट्रेड युनियनका नेताहरुमाथि संस्थागत सुधारभन्दा कर्मचारी सरुवा गर्न व्यवस्थापनमा दवाव दिने गरेको आरोप लाग्दै आएको छ । यो नियम कार्यकारी निर्देशक कुलमान घिसिङसहित उपकार्यकारी निर्देशकहरुमा पनि लागु हुनेछ । यसअघि उनीहरुले पनि दिनको एक पटकमात्रै हाजिर गरे हुने व्यवस्था थियो । मिटर रिडिङमा खटिएका कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखले आवश्यक निर्णय लिन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको गत भदौ २५ गते बसेको बैठकले मिटर रिडिङमा संलग्न कर्मचारीबाहेक सबैको हकमा दिनको २ पटक हाजिर गर्नुपर्ने नियम लागु गर्ने निर्णय गरेको थियो । प्राधिकरण कर्मचारी सेवा विनियमावलीमा कर्मचारीले कार्यालय खुलेको दिन आएको र गएको समय देखिने गरी अनिवार्य हाजिर गर्नुपर्ने व्यवस्था छ ।तर, यो व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेकाे थिएन ।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार १३:५५