प्रतिप्लेट पाँच सय लिएर होटल रेस्टुरेन्टमा अरिंगाल व्यापार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रतिप्लेट पाँच सय लिएर होटल रेस्टुरेन्टमा अरिंगाल व्यापार



काठमाडौं  । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ।

अहिले प्रतिमाना एक हजार पाँच सय रुपैयाँ अर्थात् प्लेटको पाँच सयसम्म लिएर होटल रेस्टुरेन्टहरुले अरिंगाल व्यापार गरिरहेका छन्। व्यापार यतिसम्म बढेको छ कि भनेको जति अरिंगाल खान पनि पाइँदैन।

प्रधानमन्त्रीको वक्तव्यपछि एकाएक चर्चा पाएको अरिंगालको गोरखा र आसपासमा भने साउन लाग्दादेखि नै व्यापार चुलिइसकेको थियो, चर्चा बढिसकेको थियो । हिजोआज त अभाव हुन थालेको छ।

 

निकै ‘टेस्टी’ मनेर अरिंगाल खाने यहाँ ठूलै जमात छन्। लार्भाको व्यापार ह्वातै बढेको छ। तनहुँको आँबुखैरेनी, नयाँ पुल, पृथ्वी राजमार्गछेउछाउका केही रेस्टुरेन्ट, मनकामना, गोरखा सदरमुकामआसपासमा अहिले अरिंगाल खोज्ने ग्राहक बाक्लै भेटिन्छन्।

अरिंगालको गोलो पोल्ने, त्यहाँ रहेको लार्भा र अरिंगाललाई झिकेर ‘फ्राई’ गरेर खाने गरिन्छ। यसलाई पारखीले ‘चिज’ को रुपमा लिन्छन् । सहजै सिकार गर्न नसकने भएकाले यो सीमित होटलमा मात्रै पाइन्छ ।

आबुखैरेनीको मनकामना रेस्टुुरेन्ट एन्ड खाजा घरका सञ्चालक राजकु्मार श्रेष्ठ भन्छन्, ‘दैनिक पाँचसात माना अरिंगाल बिक्री हुन्छ । यो वर्ष अरिंगाल पहिलेजस्तो आएन। जति राखे पनि दिनमै सकिन्छ ।’ अरिंगाल गत वर्षभन्दा प्लेटमा एक सय रुपैयाँ महँगो भएको छ।

अभाव भएपछि अहिले श्रेष्ठले रेस्टुरेन्टमा बनिबनाउ परिकार खानमात्रै दिन्छन्, ठुलो परिमाणमा बिक्री गर्दैनन् । उनका अनुसार अरिंगाल सिजनमा मात्रै हुने भएकाले जति भए पनि बिक्री हुन्छ । उच्चपदस्थ कर्मचारीदेखि धनाढ्य यसका पारखी हुन् ।

अझै युवा पुस्तामा अरिंगालको ‘टेस्ट’ ले राम्रो चर्चा र बजार लिएको श्रेष्ठको अनुभव छ। साउनदेखि कात्तिक–मंसिरसम्म अरिंगालको सिजन मानिन्छ । जंगलमा, घरको गारोमा अरिंगालले गोलो बनाउँछ। नागरिक दैनिकबाट ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार ०८:५५