बैंकहरुले दैनिक २५ केजी सुन ल्याउन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुले दैनिक २५ केजी सुन ल्याउन पाउने



काठमाडौं । वाणिज्य बैंकहरुले अब दैनिक २५ केजीसम्म सुन ल्याउन पाउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको हो ।

मन्त्रालयका सहसचिव रविशंकर सैंजुलेका अनुसार राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकहरुले दैनिक २५ केजीका दरले सुन ल्याउन सक्नेछन् । मंसिर मसान्तसम्म दैनिक २५ केजीका दरले सुन ल्याउन स्वीकृति दिइएको उनले बताए । राष्ट्र बैंकले भने चाडपर्वका बेला दैनिक ३० केजीसम्म सुनको आयात गर्न प्रस्ताव गरेको थियो ।

चाडपर्वका बेला बीचबीचमा २५ केजीसम्म आयात गर्न दिइएकोमा अब असोजदेखि मंसिरसम्मको अवधि कायम गरेर सहजता दिलाइएको मन्त्रालयले जनाएको छ । अन्य नियमित समयमा भने दैनिक २० केजीसम्मको कोटा यथावत रहनेछ । त्यस्तै विवाहको बेला पनि दैनिक २५ केजीका दरले सुन आयात गर्न पाउने व्यवस्था छ । माघरफागुन तथा वैशाखको अवधिलाई विहेको सिजन भनेर तोकिएको छ ।

मन्त्रालयको स्वीकृतबमोजिम नै वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गरी त्यसै दिनबाट कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३२ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार १२:०६