विकासशिल राष्ट्रहरुको २१ औं बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

विकासशिल राष्ट्रहरुको २१ औं बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सकियो



काठमाडौं । २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । आगामी सम्मेलन सन् २०२० मा घानामा गर्ने निर्णयसहित सम्मेलन समापन गरेको छ ।

सम्मेलनमा बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा गहन छलफल भएको थियो । त्यस्तै बीमामा प्रविधिको प्रयोग र लघुबीमाको बिषयहरु समेटेर छलफल भएको थियो ।

बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियन मुलकमा नेपाल लगायत अन्य पाँच वटा मुलुकका कम्पनीहरु जोखम अवस्थामा रहेको बताएका थिए ।

त्यस्तै, अष्टे«लियाका कम्पनीहरु जोखिमरहित रहेको पनि उनले बताए । “जापान र कोरियामा सञ्चालित कम्पनीहरुको जोखिमको अवस्था न्यून रहेको छ । भुटान र भारतका कम्पनीहरु भने ग्रे जोनमा रहेका छन्,” उनले बताए ।

बीमाको पहुँच बढाउन र लागत घटाउन प्रविधिको प्रयोग आबश्यक र अपरिहार्य भएको बीमा विज्ञ जिम्मी मोलिनियरले थपे । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बीमा विज्ञ मोलिनियरले प्रविधिले बीमा योजना जारी गर्न, समयमा दाबी भुक्तानी गर्न, बीमाशुल्क संकलन गर्न सहज, सरल र छरितो हुने बताए ।

साथै मोलिनियरले कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने बताए । त्यसैले आगामी दिनमा यस्ता राष्ट्रहरुले प्रविधिको प्रयोग बढाउनु पर्ने बताए ।

सोही बिषयमा कार्यपत्र प्रस्तुत गर्दै भारतका कल्पेश डेसाईले बीमा क्षेत्रमा प्रविधिको उचित प्रयोगको लागी बैंकसँग मिलेर काम गर्न सकिने बताए । “बैंकसँग सहकार्य गर्दा बैंकका एटिएम मेशिन लगायतका प्रविधिको प्रयोग गर्न सकिन्छ,” उनले भने ।

सम्मेलनमा लघुबीमा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुर्नबीमा कम्पनीमा डिर्क रिनहार्डले लघुबीमा मानिसहरुको लागी जीवन उपयोगी हुने बताए । “तर यसले मानिसलाई गरिबीबाट निकाल्ने हैन, गरिबीबाट बाहिर निस्केका मानिसलाई पुन ः गरिबीमा नजान सहयोगी मद्धत गर्छ,” उनले भने । तर, यसको मुख्य चुनौती भनेको सञ्चालन खर्च अधिक हुनु हो ।

साथै फिलिपिन्सका लोरेन्ज हानले लघुबीमाका लागी विमितहरुको घरघरमा पुग्नु पर्ने भएकाले अन्य बीमाको तुलनामा यो चुनौतीपूर्ण हुने बताए ।

त्यसैले यस्तो खालको बीमा जारी गर्दा स्थानिय विभिन्न संघ संस्थासँगको सहयोगमा जारी गर्नुपर्ने उनले बताए । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । तर, यसका चुनौती पनि उत्तिकै रहेको उनले बताए । “यो बीमालेखबाट कम आम्दानी हुन्छ भने सञ्चालन खर्च अधिक हुन्छ, तर पनि हामी सम्भावना खोजीमा लघबीमा जारी गरि रहेका छौ,” उनले भने ।

नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा १८ वटा मुलुकमा ४ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार १२:४४