ठूला सिंँचाइ आयोजना : काम भन्दा प्रचार बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ठूला सिंँचाइ आयोजना : काम भन्दा प्रचार बढी



काठमाडौँ  । विसं २०२७ देखि प्रत्येक अर्थमन्त्रीले सुनकोसी–कमला डाइभर्सन सिँचाइ परियोजनामा बजेट विनियोजन गर्ने गर्छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिन्छ ।  तर त्यो आयोजनाको आयोजनास्थल कहाँ हो, कसरी अगाडि बढेको छ भन्नेबारेमा कार्यक्रममा राख्ने बजेट बनाउने कुनै पनि अर्थमन्त्रीले राम्रोसँग थाहा पाएका छन् कि छैनन् भन्ने पनि चासोको विषय बन्ने गरेको छ ।

सरकारले कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ हरेक वर्ष सिँचाई आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर योजना र बजेटसमेत विनियोजन गर्ने गर्छन् । तर साँेचेजति प्रगति भने हुन सकेका छैन ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको भनाइलाई मान्ने हो भने सुनकोसी–कमला डाइभर्सन सिँचाइ आयोजना हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश हुने गरेको भए पनि कार्यान्वयनको तहमा जाने गरेको छैन । कार्यान्वयनमा नजाँदा सो परियोजना कागजी प्रक्रियाबाट वास्तविक प्रक्रियामा अगाडि बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यकै आधारमा हेर्ने हो भने पनि रु २५ अर्ब रकम सिँचाइ आयोजनाका लागि छुट्ट्याइएको छ । तर प्रगति भने हरेक वर्ष न्यून रहदै आएको छ ।

यसपटक पनि गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीलागयतका कारणले जटिलता थप्ने देखिएको छ । सुनकोसी–कमला जस्तै एउटा बेसिनको पानी अर्को बेसिनमा खसालेर सिँचाइ सुविधा उपलब्ध गराउने र १२ महिना नै सिँचाइ पु¥याउने सरकारको लक्ष्य कछुवागतिमा भन्दा बढी अगाडि बढन सकेको छैन ।

पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी सुनकोसी–कमला डाइभर्सनको कुरा बारम्बार उठ्ने गरेको भए पनि कार्यान्वयनको तहमा नजानु दुःखद भएको बताउनुहुन्छ । उहाँले कुरा मात्रै हुने काम नहुने प्रवृत्तिको अन्त्य गरेर तोकिएका आयोजनालाई समयमै सम्पन्न गर्न सरकारसँग दृढ इच्छाशक्तिको आवश्यकता हुनुपर्ने धारणा राख्नु हुन्छ ।

प्रगतिमा छैनन् राष्ट्रिय गौरवका आयोजना

सरकारले सिक्टा, भेरी –बबई, रानीजमरा कुलरिया र बबई सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको छ । तर प्रगतिको हिसाबले ती चारवटै आयोजनाको प्रगति सोचेजति हुन सकेको छैन । बाँके जिल्लाको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ आर्थिक वर्ष २०६१÷०६२ बाट सुरु भएको सिक्टा सिँचाई आयोजना आव २०७४÷७५ मा सक्ने लक्ष्य राखिएको भए पनि प्राविधिक तथा स्थानीय जटिलता, निर्माण सामग्रीको अभावलगायतका कारणले आव २०७६÷७७ मा मात्रै सम्पन्न हुने देखिन्छ ।

सरकारको आफ्नै लागतमा अगाडि बढाइएको सो आयोजनाको लागत सुरुमा रु १२ अर्ब ८० करोड रहेकोमा हाल शतप्रतिशत भन्दा बढी हुन पुगेको छ । आयोजना प्रमुख सरोज पण्डित पछिल्लो दिनमा इन्धन तथा निर्माण सामग्रीको अभावका कारण परियोजना प्रभावित भएको बताउनुहुन्छ । नहर रेखाङ्कनमा व्यवधान उत्पन्न भएको, जग्गा अधिग्रहण प्रक्रियामा विवाद, वन तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्री आपूर्तिमा कठिनाई भएको छ ।

ऊर्जा, सिँचाइ, सहरी विकास र जलाधार संरक्षणलाई एकसाथ योगदान गर्ने उद्देश्यका साथ अगाडि बढाइएको भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजना इन्धन अभावका कारण पछिल्लो दिनमा प्रभावित भएको छ । आयोजना प्रमुख शिव बस्नेतका अनुसार आयोजनाको हाल पहुँच मार्ग निर्माणको क्रममा रहेको छ ।

सो आयोजनाबाट ४८ मेगावाट विद्युत् निकाल्ने र बर्दियाको कुल ५१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइनेछ । भेरी नदीको पानीलाई सिँचाइ तथा विद्युत् उत्पादनमा प्रयोग गर्ने आयोजनाको लक्ष्य राखिएको छ । कुल १२ किलोमिटर लामो सुरुङबाट भेरीको पानी बबई नदीमा खसाउने र आगामी चारवर्ष दश महिनाभित्र आयोजना सम्पन्न गर्ने सो आयोजनाले लक्ष्य राखेको छ ।

यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको रानीजमरा– कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति २२.८९ र वित्तीय प्रगति ३८.७३ प्रतिशत मात्रै रहेको छ । बहुवर्षीय योजनाको रुपमा सो आयोजनाको कुल लागत रु १२ अर्ब ६३ करोड रहेको छ । कैलाली जिल्लाको आठ गाविस र एक नगरपालिकामा सो आयोजनाबाट १२ महिना सिँचाई सुविधा उपलब्ध हुनसक्छ ।

बर्दिया जिल्लाको ३६ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने बबई सिँचाइ आयोजनाको नहर निर्माण कार्य अगाडि बढिरहेको भए पनि भारतको अघोषित नाकाबन्दीका कारण जटिलता पैदा भएको छ । आव २०७१÷०७२ मा आयोजनाको भौतिक प्रगति ३९.१८ प्रतिशत र वित्तीय प्रगति ५२ प्रतिशत रहेको थियो । चालु आवमा सो आयोजनालाई रु ७५ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ ।

नदीजन्य सामग्रीको प्रयोग, जग्गाको मुआब्जा, नहरमापर्ने रुख कटानमा समस्या भने यथावत नै रहेको छ ।
के छ त समाधानको उपाय

पूर्व अर्थमन्त्री अधिकारी अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने, आयोजना प्रमुखलाई सबै अधिकार दिएर तोकिएको समयमा काम पूरा गराउने प्रतिवद्धता गराउनुपर्नेमा जोड दिनुहुन्छ ।

सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामानन्दप्रसाद यादव ठूला आयोजनालाई तोकिएकै समयमा पूरा गराउनु नै हालको प्रमुख चुनौती रहेको बताउनुहुन्छ । मुलुकको कुल क्षेत्रफलमध्ये २६ लाख ४१ हजार हेक्टर खेतीयोग्य मानिन्छ । त्यसमध्ये १७ लाख ६६ हजार हेक्टर सिँचाइयोग्य रहेको छ । तीमध्ये पनि १३ लाख ६८ हजार हेक्टरमा सिँचाइको पूर्वाधार विकास भइरहेको छ । हाल कुल खेतीयोग्य जमिनमध्ये ३५ प्रतिशतमा मात्रै १२ महिना नै सिँचाइ हुन्छ ।

उहाँले भन्नुभयो ‘‘योजानअनुसार काम भएन भने सिँचाइ गरेर उत्पादकत्व वृद्धि गर्न सकिदैन । १२ महिना सिँचाइ पु¥याउनु सिँचाइ मन्त्रालयका लागि चुनौती रहेको छ । सो चुनौती सामना गर्न ठूला आयोजना तोकिएको समयमा पूरा हुनुपर्छ ।’’

पूर्वमन्त्री लोहनी पनि ठूला आयोजनालाई समयमै सम्पन्न गर्न राजनीतिक इच्छाशक्ति र जिम्मेवारीबोध गराउनु नै प्रमुख विषय भएको बताउनुहुन्छ ।

सिँचाइमन्त्री उमेशप्रसाद यादव आफूले लामो समयदेखि कुरा मात्रै हुने र काम नहुने आयोजनालाई तीव्र रुपमा अगाडि बढाउने उद्देश्यका साथ आवश्यक निर्देशन र सहजीकरण गरेको बताउनुहुन्छ ।

ठूला आयोजनाको आयोजना स्थलको स्थलगत निरीक्षण, इन्धन आपूर्तिमा पहल तथा वन तथा अन्य स्थानीय समस्या समाधानमा आफू लागिपरेको उल्लेख गर्दै मन्त्री यादवले भन्नुभयो ‘‘ राम्रो काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई दण्ड दिने नीतिअनुसार नै सरकार लागिपरेको छ । ’’

प्रकाशित : २६ पुष २०७२, आईतवार ०३:१६