चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता



काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण व्यापारिक चुनौती र तनाव उत्पन्न भइरहेको अवस्थामा दुबै मुलुकबीच यो पछिल्लो सम्झौता भएको हो ।

एसियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरुमा सुधार आएको छ ।

चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुबै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताए ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलो पटक भएको हो । दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेको थिएन ।

“मेरो विश्वास छ नियमित व्यापारले जापानी र चिनीया जनताबीचको सम्बन्धमा थप प्रगाढता आउनेछ,” प्रधानमन्त्री आबेले भने ।

त्यस अवसरमा चिनीया प्रधानमन्त्री लीले “अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ” भन्दै मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताए ।

प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झण्डै एक हजार प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्री लीका अनुसार उक्त टोलीसँग २ अर्ब ६० करोड डलर बराबरका ५०० वटा सम्झौता भएका छन् ।

दुबै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ ।

चीनको राष्ट्रवादी रुझान राख्ने ग्लोबल टाइम्सले चीन–जापान सम्बन्धमा सुधार ल्याउन अमेरिकी प्रभाव सीमित रहेको जनाउँदै आगामी दिनमा बेइजिङ र टोकियोले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुअघि वासिङ्टनको विचारलाई आधार लिन थाले त्यो प्रभावकारी नहुने बताएको छ । एजेन्सी

प्रकाशित : ९ कार्तिक २०७५, शुक्रबार १६:१९