भोटेकोसी जलविद्युत् आयोजनाले सञ्चकर्ताका लागि सेयर खाेल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

भोटेकोसी जलविद्युत् आयोजनाले सञ्चकर्ताका लागि सेयर खाेल्ने



काठमाडौ ।नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको मुख्य प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् आयोजनाले सञ्चकर्ताका लागि सेयर आवेदन खुला हुने भएको छ । सर्वसाधारण सेयरधनीका लागि १ सय रुपैयाँ अङ्कित दरका १ करोड ४४ लाख कित्ता सेयर निष्कासन हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले साधारण सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृति लिइसकेको छ । कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीका लागि १ करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गर्न लागिएको हो ।

१ सय २ मेगावाट क्षमताको आयोजनाको अधिकृत पुँजी ६ अर्ब २१ करोड छ । जारी पुँजी भने ६ अर्ब रुपैयाँ छ । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ छ । कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाइनेछ । ५० प्रतिशत स्वपुँजीअन्तर्गत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको छ । संस्थापक सेयर समूहबाट ३ अर्ब ६ करोड चुक्ता भइसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत स्वामित्व संस्थापक सेयरधनी (नेपाल विद्युत् प्राधिकरण १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड १ प्रतिशत) छ । ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूह (कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता १९.५ प्रतिशत, संस्थापक सङ्गठित संस्थाका कर्मचारी ३.५ ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत, सिन्धुपाल्चोकका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत) छुट्याइएको छ ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अङ्कले भाग जाने सङ्ख्यामा अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कर्मचारी सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अङ्कले भाग जाने सङ्ख्यामा अधिकतम १२ सय कित्तासम्म सेयर आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई ६० लाख कित्ता र सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर निष्कासन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । आवेदकहरुका लागि सिआस्वा र डिम्याट खाता अनिवार्य गरिएको छ ।
आयोजनाको हालसम्म ४२ प्रतिशत निर्माण सकिएको छ भने आगामी २०७६ असार १६ गतेसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार १६:५७