सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमायोः डा. शेखर कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमायोः डा. शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले सरकारले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले गुमाएको दाबीसमेत गरे ।

‘न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार जगतलाई कमजोर बनाउने खेलमा सरकार अहिले लागिरहेको छ’, डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने ।

उनले सम्पत्ति शुद्धीकरणलगायतका महत्त्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहत ल्याएर भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको आरोप लगाए । ‘न्यायपालिका निरीह छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ’, कोइरालाले भने, ‘अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।’ तर, उनले सरकारले सेनालाई कसरी कमजोर बनायो भन्नेबारे भने केही खुलाएनन् ।

कोइरालाले न्यायलयमा दलीय छाया परिसकेको उल्लेख गर्दै यसकै कारण पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास घटेको बताए ।

फरक प्रसंगमा नेता कोइरालाले सर्लाही रामनगरमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महत्तोको हत्यारालाई उन्मुत्ति दिन राज्य नै लागिपरेको आरोप लगाए । उनले दलको सदस्य भएकै कारण अपराधीले उन्मुक्ति पाउन नहुने भन्दै हत्यारा पत्ता नलागेसम्म शव नउठ्ने प्रष्ट पारे ।

‘कुनै दल विशेषको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाइँदैन’, कोइरालाले भने, ‘नागरिकको जिउ–धनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैन ।’

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १४:०७