आज गोवर्द्धन पूजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

आज गोवर्द्धन पूजा



तिहारको चौथो दिन- गोरु तिहार, हल तिहार र गोबर्धन पूजा जस्ता बिभिन्न नामले मनाईदैछ । गोरुको पूजा गरिने भएको हुँदा यस पर्वलाई गोरु तिहार भनिएको हो । खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाईएको हो । बर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्ने गोरूको विशेष पूजा गरिएको हो ।

 

यस दिनलाई हल तिहार पनि भनिन्छ । सयपत्री लगायत अन्य फुलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी (बाबर) पकाएर खान दिईन्छ । गोरु पूजागर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाईदिने गरिन्छ । आज गोबरलाई गोबर्धन पर्वतको प्रतीकका रुपमा गोबर्धन पूजा गरिन्छ । गोवर्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । पौराणिक कथा अनुसार गोबर्धन पर्वतमा ग्वालाहरूसंगै भगवान कृष्ण पनि बस्दथे । ग्वालाहरू देवराज इन्द्रको पूजा गर्दथे, तर जति भक्ति गरेपनि उनीहरूले इन्द्रबाट केहि पाउँदैनथिए ।

गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा किन गर्नु भनि श्रीकृष्णले एकदिन गोकुलवासीहरुलाई भनेपछि उनीहरुले पनि पूजा गर्न छाडे । बरु इन्द्रको साटो उनीहरुले खनिज, घाँस, पानी र दाउरा दिने गोबर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टा गोबर्धन पर्वतको पूजा हुन थालेपछि इन्द्रले पनि रिस थाम्न नसकि गोकुलमा भिषण असिना पानीको बर्षा गराईदिए । गोपालहरु असिना पानीले त्राहित्राही बनेको देखेर कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीको कल्याण गरी आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्विकार गरी कृष्ण समक्ष क्षमा मागे । भनिन्छ, उक्त दिन कार्तिक शुक्ल प्रतिपदाको दिन भएको र त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

गोबर्धन पूजा सकिएपछि आजैदेखि देउसी खेल्ने चलन पनि छ । देउसीमा नाचगान गरी घरघरमा आर्शिवाद बाँडिन्छ । देउसी खेल्ने प्रचलन बली राजाको पालादेखि शुरु भएको भनाई छ । तिहार पर्व देउसीकै कारण पनि लोकप्रिय बनेको हो । देउसेहरुले परम्परागत भेषभूषा लगाएर बली राजाका प्रतिनिधिका रुपमा विभिन्न देवकथा, उपकथा, शुभवचनहरु भट्याउँदै नाचगान गर्दछन् र श्रद्धापूर्वक प्राप्त गरेको दान दक्षिणा ग्रहण गर्दछन् । लक्ष्मीपूजाका दिनदेखि भैलो खेलिन्छ भने गोरु पूजाका दिनदेखि यसरी देउसी खेल्ने चलन रहेको छ ।

प्रकाशित : २२ कार्तिक २०७५, बिहीबार ०७:३४