इन्धन वितरण नगर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित हुन निगमलाई अख्तियारको आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्धन वितरण नगर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित हुन निगमलाई अख्तियारको आदेश



oil nigamकाठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पत्र काटेको छ ।

आयोगले मङ्गलवार आपूर्ति सचिव विष्णुप्रसाद लम्साल र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पत्र काटेर उपस्थित हुन आग्रह गरेको हो ।

आयोगका अनुसार निगमको थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरेलाई पनि उपस्थित हुन भनिएको छ । निगमको मुलुकभरका भण्डारण स्थलमा दुई करोड २० लाख लिटरभन्दा बढी इन्धन मौज्दात रहे पनि उपभोक्तालाई वितरण गरेको छैन ।

पर्याप्त मौज्दात रहे पनि किन इन्धन वितरण नभएको हो, भण्डारण मात्रै गरिराख्नुको कारण के हो भन्दै बुधबार बिहान उपस्थित हुन पत्र काटिएको आयोगले बताएको छ । पछिल्लो दिनमा रक्सौल नाकाबाहेक अन्य नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिए पनि निगमले इन्धन वितरण गरेको छैन ।

तोकिएका केही पेट्रोल पम्पलाई मात्रै सीमित परिणाममा इन्धन दिएको छ । पर्याप्त मौज्दात रहँदा उपभोक्ताले राहत महसुस गर्ने गरी इन्धन वितरण हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै किन त्यस्तो गरिएको हो भन्ने जवाफ दिन बोलाइएको आयोगले बताएको छ । आयोगले आवश्यक कागजातसहित उपस्थित हुन तीनै जनालाई निर्देशन दिएको हो ।

प्रकाशित : ६ माघ २०७२, बुधबार १३:३६