मञ्जुश्री फाइनान्समा १२ करोड घोटला, सिइओ फरार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मञ्जुश्री फाइनान्समा १२ करोड घोटला, सिइओ फरार



काठमाडौं । नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको मञ्जुश्री फाइनान्समा करिब १२ करोड रुपैयाँ अनियमितता भएको छ । मिलेमतोमा धितोविनै कर्जा प्रवाह गर्ने पूर्व्सिइओ नवराज थापा फरार छन् भने कर्जा लिने एक ऋणी रामशरण भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।

नौजनालाई विनाधितो ऋण प्रवाह

पक्राउ परेका रामशरण भण्डारीसहित नौजनालाई धितो नै नराखी तत्कालीन सिइओ थापाले १२ करोड कर्जा दिएको सिआइबीले जनाएको छ । राष्ट्र बैंकको छानबिनमा विनाधितो कर्जा प्रवाह भएको खुलेपछि ऋणीले कमसल धितो राखेका थिए । कमसल धितोका कारण कर्जा असुल हुन सकेको छैन । फाइनान्सले दुई वर्षअघि लुम्बिनी बैंकसँग मर्जरमा जाने सहमति गरे पनि अहिलेसम्म मर्जर हुन सकेको छैन ।

कारबाहीको डरले राजीनामा दिएर सिइओ फरार

राष्ट्र बैंकले छानबिन अघि बढाएपछि तत्कालीन सिइओ थापाले गत वर्ष फाइनान्सबाट राजीनामा दिएका थिए । आफू कारबाहीमा पर्ने थाहा पाएका उनले विदेश पढ्न जाने भन्दै जागिर छाडेको फाइनान्सका एक कर्मचारीले बताए । अधिकांश ऋणी फाइनान्सको सम्पर्कबाहिर छन् ।

ऋणी भण्डारीले अनियमितता स्विकारे

दुई साताअघि पक्राउ परेका भण्डारीले अनियमित तरिकाले कर्जा लिएको स्विकारे । उनले २ पटक गरी २ करोड ४५ लाख ऋण लिएका थिए । प्रहरीले अनुसन्धान थालेपछि एक करोड १४ लाख तिरेका छन् ।

राष्ट्र बैंक नरम हुँदा फाइनान्समा समस्या

राष्ट्र बैंकले मञ्जुश्री फाइनान्सको अनियमितताबारे तीन वर्षअघि नै जानकारी पाएको थियो । विनाधितो कर्जा दिने सिइओ र ऋणीलाई कारबाही नगरी बैंकले धितो राखेर कर्जा असुल्न निर्देशन दिँदा फाइनान्समा समस्या भएको हो । धेरै समस्या भएपछि राष्ट्र बैंकले नै सिइओ थापा र ऋणीलाई पक्रेर कारबाही गर्न सिआइबीलाई सिफारिस गरेको खबर् आजको नयाँपत्रिका दैनिकमा खबर छापिएको छ ।

कुबेर फाइनान्सका पूर्व्सिइओविरुद्ध मुद्दा

कुबेर फाइनान्सका पूर्व्सिइओ कमलराज सुवेदीविरुद्ध सिआइबीले बैंकिङ कसुरमा मुद्दा दायर गरेको छ । करिब ४ करोड अनियमितता अभियोगमा उनीविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर भएको हो । सुवेदी २४ मंसिरमा पक्राउ परेका थिए । सुरुमा ६८ लाख हिनामिनामा अनुसन्धान गर्दा करिब ४ करोड अनियमितता गरेको खुलेको छ ।

प्रकाशित : ७ माघ २०७२, बिहीबार ०४:३२