अन्योलमा डेपुटी गभर्नरको नियुक्ति प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्योलमा डेपुटी गभर्नरको नियुक्ति प्रकृया



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाण्डौ । नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरको नियुक्ति तत्काल नहुने भएको छ । अर्थमन्त्रालयस्थित स्रोतका अनुसार प्रधानमन्त्रीले फागुन दोश्रो सातामा गर्ने भ्रमणको पूर्व तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल भारत गएर फर्केपछि मात्र डेपुटी गभर्नर नियुक्तिको विषयले निश्कर्ष पाउनेछ । पुस १० गतेदेखि नेपालको केन्द्रीय बैंकका दुई डेपुटी गभर्नर महाप्रसाद अधिकारी र गोपालप्रसाद काफ्लेले अवकास पाएपछि हालसम्म ती दुई पद रिक्त छ ।

लामो समयदेखि डेपुटीको पद रिक्त हुँदा समेत गभर्नर डा. चिरञ्जिवी नेपाल र अर्थमन्त्री पौडेलबीच कुरा नमिलेपछि नियुक्तिमा ढिलाई हुँदै आएको छ । पछिल्लो समय अघिल्लो साता डेपुटी नियुक्तिका लागि निकै तीव्र गतिमा कसरत भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरले सिफारिस गरेका नाममा चित्त नबुझाएपछि समस्या थप चर्किएको थियो ।

अघिल्लो साता नै डेपुटी नियुक्तिको कसरत गरेर गभर्नरले बुझाएका चार नाम खल्तीमा हालेर मन्त्रीपरिषद बैठकमा पेश गर्न अर्थमन्त्री पुगे पनि प्रधानमन्त्रीले रोकेपछि यो बिषय थप जेलिएको थियो । त्यसपछि यो साता(सोमबार) बस्ने क्याबिनेटबाट यो बिषय टुंगोमा पुर्याइने बताइए पनि प्रधानमन्त्रीले दुवै पदमा एमाले कार्यकर्ता नै नियुक्त गर्नुपर्ने अडान लिएपछि अवस्था केही असहज भएको हो ।

गभर्नर डा. नेपालले डेपुटीका लागि भन्दै एमालेका चिन्तामणि शिवाकोटी र बाँकी तीनवटा नाम चाहि कांग्रेस समर्थित कार्यकारी निर्देशकहरुको सिफारिस गरेका थिए । एकजना एमाले र अर्को एक कांग्रेसबाटै डेपुटीमा नियुक्त गर्न अर्थमन्त्री सकारात्मक देखिए पनि प्रधानमन्त्रीकै कारण डेपुटी नियुक्तिको बिषयमा ढिलाई भएको उच्च स्रोतको दाबी छ ।

गभर्नर डा. नेपालले एमालेका शिवाकोटी, कांग्रेसका शिवनाथ पाण्डे, नारायण पौडेल र शिवराज श्रेष्ठलाई डेपुटीका लागि सिफारिस गरेका छन् । केही समयअघि सरकारी संचारमाध्यमले केन्द्रीय बैंकका प्रवक्ता त्रिलोचन पंगेनीको नाम समेत सिफारिसमा परेको बताए पनि राष्ट्रबैंक स्रोतले भने सो कुरा सही नभएको स्पष्ट पारेको छ । गभर्नर डा. नेपाल जुनसुकै अवस्थामा पनि शिवनाथ पाण्डेलाई डेपुटी बनाउन चाहन्छन, पंगेनीलाई सिफारिसमा राख्दा अर्थमन्त्री पौडेल उनीप्रति सकारात्मक रहेका गभर्नरले बुझेका छन् । पंगेनी अर्थमन्त्री पौडेलसँग निकट व्यक्ति हुन् । यही कुरा बुझेका गभर्नरले पंगेनीको नाम सिफारिसमा नराखेका दाबी स्रोतको छ ।

अर्थमन्त्रीले आफ्ना निकटवर्तीसँग भारत भ्रमणपछि मात्र यो बिषयलाई टुंग्याउने भनेका छन् । अर्थमन्त्री पौडेल माघ २४ गते तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । त्यहाँ उनले प्रधानमन्त्री ओलीको सन्निकट भारत भ्रमणको पूर्व तयारीको काम गर्नेछन् । सो क्रममा भारतका विदेशमन्त्री तथा बित्त मन्त्रीसँग समेत भेट्ने र प्रमको भारत भ्रमणको क्रममा हुने संभावित सम्झौताहरुको बिषयमा छलफल हुनेछ । भारत भ्रमण सकेर अर्थमन्त्री फर्किएपछि चाहि डेपुटी नियुक्तिको बिषयले निश्कर्ष पाउने बताइएको छ ।

राष्टबैंकको नियमावली अनुसार गभर्नरले चारवटा नाम सिफारिस गरेर अर्थमन्त्रीलाई दिने र अर्थमन्त्रीले ती चारवटा नाममध्येबाट दुईजनालाई डेपुटीमा नियुक्तिका लागि क्याबिनेटमा पेश गर्नुपर्ने हुन्छ । यसको अर्थ, प्रम ओलीले चित्त नबुझाए पनि गभर्नर डा. नेपालले नाम नै सिफारिस गरिसकेको अवस्थामा एमालेकाबाट चिन्तामणि शिवाकोटी र कांग्रेसबाट एकजना(संभवत शिवनाथ पाण्डे) डेपुटी गभर्नर बन्ने लगभग पक्का जस्तै देखिएको छ ।

प्रकाशित : २१ माघ २०७२, बिहीबार ०४:२७