तामाकोसी पाँचौंको डीपीआर तयारी लागी परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तामाकोसी पाँचौंको डीपीआर तयारी लागी परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा



काठमाडौं ।प्रस्तावित तामाकोसी पाँचौं आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयारीका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बोलपत्रमा भाग लिएका आधा दर्जन कम्पनीको मूल्यांकन सम्पन्न भइसकेको छ । १ महिनाभित्र परामर्शदाता चयन हुने आयोजनाले जनाएको छ ।

विद्युत् प्राधिकरणले डीपीआर तयारीका लागि आह्वान गरेको बोलपत्रमा ल्याह्मेयर इन्टरनेसनल जीएमबी जर्मनी वापकोर्स इन्डिया लिमिटेड भारत, निप्पोन कोई कम्पनी लिमिटेड जापान ,एफ कन्सल्ट स्विट्जरल्यान्ड, एमडब्ल्यूएच इन्टरनेश्नल इंक अमेरिका र एसपी स्टुडियो पाइट्राङ्ग्ली कन्सल्टिङ इन्जिनियर्स इटाली सहभागी छन् । यीमध्ये आर्थिक एवं प्राविधिक रूपमा बलियो कम्पनी परामर्शदाता छनोट हुनेछ ।

छनोट हुने परामर्शदाताले काम सुरु भएको डेढ वर्षमा डीपीआर तयार गर्नेछ । निर्माणाधीन माथिल्लो तामाकोसीको पानी सिधै सुरुङमार्गबाट लैजाने भएकाले आयोजनाका लागि बाँध आवश्यक नपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना शृंखला प्रारूप क्यासकेड मा निर्माण हुनेछ । यकिन लागत र वार्षिक विद्युत् ऊर्जा उत्पादन र आर्थिक पक्षबारे डीपीआरपछि मात्र थाहा हुनेछ । डीपीआर तयारीपछि मात्र आयोजनाको निर्माण प्रारूप र लगानी संरचना तयार हुनेछ ।

प्राधिकरणले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यसअनुसार आयोजनाको जडित क्षमता ८७ मेगावाट हुनेछ । यसबाट वार्षिक ४६ करोड युनिट बिजुली उत्पादन हुने देखिएको छ । आयोजना बनाउन १३ अर्ब रुपैयाँ १३ करोड अमेरिकी डलर लाग्ने अनुमान छ । यसको प्रतिमेगावाट लागत साढे १५ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

त्यस्तै, प्राधिकरण र कोरिया वाटर रिसोर्स कर्पोरेसन के–वाटर ले संयुक्त रूपमा निर्माण गर्ने भनेको मोदी ‘ए’ र माथिल्लो मोदी दुबै आयोजनाको डीपीआर तयारीका लागि परामर्शदाता छनोटको तयारी गरेको छ । दुबै आयोजनालाई एउटै संरचनाबाट ६२.५ मेगावाट क्षमतामा निर्माण गर्ने सहमति भएको छ । के–वाटरले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनले मोदी ‘ए’ लाई ४२ मेगावाट र माथिल्लो मोदीलाई २०.५ मेगावाटमा डिजाइन गरी दुबैलाई क्यासकेड रूपमा निर्माण गर्न सुझाएको छ ।

आयोजनामा विदेशी लगानी आउने भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप अध्ययनका लागि परामर्शदाता नियुक्त गर्न लागिएको हो । यसका लागि बोलपत्र आह्वानको तयारी भइरहेको छ । आयोजना बनाउन १२ अर्ब रुपैयाँभन्दा बढी १२ करोड ४५ लाख डलर लाग्ने अध्ययनले देखाएको छ । आयोजनामा प्राधिकरणको ६०, के–वाटरको ३० र स्थानीय÷सर्वसाधारणको १० प्रतिशत सेयर लगानी हुुनेछ । आयोजनामा ६० प्रतिशत कर्जा र बाँकी ४० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

प्रकाशित : २७ माघ २०७२, बुधबार १०:५४